रमेश चन्द्र कुमाल
नेपालगन्ज, २७ मंसिर – पंचमी तिथिमा राज जानकी विवाह महोत्सव भव्यताले सम्पन्न भएको छ ।
२२ गते बुधवार दिन त्रिभुवनचोकस्थित राम जानकी द्वारिकाधीश मन्दिरबाट सदरलाईन, बिस्कोरियटोल, घोसीटोल हुँदै ७ नं. वडास्थित शहीद दशरथ चन्द मार्गको गगगंजमा रहेको राम जानकी ठाकुरद्ववारा मन्दिरमा पुगेको थियो । यससमय रामजानकी मन्दिर वडा नं. ७ ले द्वार पूजन आदिको परम्परा निभाउँदै बरियातीहरुको स्वागत गरेको थियो ।
मन्दिरका अध्यक्ष रामप्यारे वर्मा नेतृत्वको कार्य समितिले विवाह महोत्सवलाई भव्य ढंगले सम्पन्र्न गर्न करिब ८ सय भन्दा बढी श्रद्धालुहरुको लागि प्रसाद वितरण गर्ने व्यवस्था गरेको थियो र राम जानकी विवाह महोत्सवको परम्परा निभाउन भव्य मञ्चको स्थापना गरेको थियो जस अनुसार सबै भन्दा पहिले भगवान रामको माता सीतासँग विवाहको परम्परा निभाइएको थियो ।
सो पछि यहाँ गरीब वर्गका २ जोडीको विवाह सम्पन्न गराइयो । महोत्सवमा रामजानकी मन्दिर झिलीमिली सजाइएको थियो । महोत्सवमा करीब ४ सय श्रद्धालु पुग्ने अनुमान गरिएको थियो तर श्रद्धालु पुगे करिब ८ सय भन्दा बढी । यस कारण मन्दिर समितिलाई प्रसादको थप व्यवस्था गर्न अप्ठेरो परेको थियो तर अबेर रातीसम्म सबैमा प्रसाद वितरण गर्ने सफलता मिल्यो ।
भगवान रामको निस्केको बरियातमा विभिन्न झाँकी प्रदर्शन गरिएको थियो । भगवान राम, लक्ष्मण, भरत, शत्रुध्न, हनुमान साना–साना बच्चाहरुलाई बनाइएको थियो जुन झाँकीको सर्वत्र नै प्रशंसा गरिएको छ । यस कार्यक्रमको विशेषता के थियो भने यहाँ गरीब वर्गका २ जोडीको सामुहिक विवाह गराइयो यसमा वर वधुलाई दाइजो नभनी मात्र उपहार दिइएको मन्दिर समितिले भनेको छ ।
यसरी यो कार्यक्रमबाट मन्दिर समितिले दाइजो उन्मूलनको सन्देश पनि दिन सफल भएको छ । यस राम जानकी विवाह महोत्सवलाई सघाउन यहाँका प्रायः सबै समाजसेवीहरुले आवश्यक सहयोग विगतदेखि गर्दै आएका छन् नगरमा समाजसेवा कार्य गरी रहेका विभिन्न व्यक्तित्व मध्ये कोहीले चामल, पीठो, तेल, घिउ, तरकारी मन्दिर समितिलाई उपलब्ध गराएका थिए । अन्य केहीहरुल २ दिन अगावै सामानहरु पठाएका थिए यसमा नगरका धनाढ्य व्यक्ति धर्मभीरु समाजसेवी नेपालगञ्ज उद्योग वाणिज्य संघका नि. अध्यक्ष तथा कसौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले १० वटा गम्छा मन्दिर समितिलाई उपलब्ध गराएको कुरा मन्दिर समितिका अध्यक्ष रामप्यारे वर्माले यस पत्रिकालाई जानकारी गराएका छन् ।
नेपालगन्जमा करीब १६ वर्षदेखि पंचमी तिथीमा राम जानकी विवाह महोत्सव सम्पन्न हुँदै आएको छ । १५ वर्षदेखि त्रिभुवनचोकको राम जानकी द्वारिकाधीश मन्दिरबाट बागेश्वरी टोलस्थित राम जानकी मन्दिरमा बरियात जाने गरेको थियो । तर विगत वर्ष त्यहाँ केही विवादको स्थिति सिर्जना भयो जसको कारण २०७७ मा ७ नं. वडास्थित रामजानकी ठाकुरद्वारा मन्दिरमा बरियात जाने निर्णय भएपछि २०७७ र यस वर्ष २०७८ मा बरियात यहाँ आएको हो । यस वर्ष अवध क्षेत्र र मिथिला क्षेत्रको गौरव बढाउने उद्देश्य लिएर मन्दिर समितिले अवधीभाषी र मिथिला भाषीहरुलाई यस कार्यक्रममा सहभागी हुन आव्हान गरेको थियो । जसको कारण मिथिलाभाषी तर्फबाट स्थानीय कलाकार वीरेन्द्र यादवले कार्यक्रमको जानकारी बाँके जिल्लावासीमा प्रसारित गरेका थिए ।
त्यस्तै अवधीभाषी तर्फबाट महिला पत्रकार चन्दा सिंहले कार्यक्रमको जानकारी प्रसारित गरेकी थिइन् । नेपालगन्जमा दशकौंदेखि राम जानकी विवाह महोत्सवको आयोजन हुँदै आएको छ । तर यस पटक अवधीभाषी र मिथिला भाषीबाट भएको कार्यक्रम सम्बन्धी जानकारीको प्रस्तुतिको सर्वत्र प्रशंसा भएकोले आगामी २०७९ सालमा आयोजित हुने राम जानकी विवाह महोत्सव कार्यक्रममा मिथिलाभाषीहरुको तर्फबाट आवश्यक सहयोग मिल्ने मन्दिर समितिको अपेक्षा रहेको बुझिएको छ ।