
– रमेश चन्द्र कुमाल
नेपालगन्ज, १८ असोज – कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटकको मञ्चन नहुने कुरा जानकारीमा आएको छ ।
नेपालगन्जमा एक शताब्दीभन्दा बढीदेखि बडादशैंमा रामलीला नाटकको मञ्चन हुने गरेको छ । बडादशैं तथा विजया दशमीमा केही वर्षदेखि १३ नं. वडा बाँकी बगिया मैदानमा निर्माण भएको नाट्य मञ्चमा रामलीला नाटक कार्यक्रमको आयोजन हुँदै आएको छ । यसअघि ८ न. वडाको सेतु बाबुको हातामा लामो समयसम्म कार्यक्रमको आयोजना भयो सो पछि केही वर्षसम्म नाकाटोलको टण्डन राइस मिलमा आयोजन हुँदै आएको थियो । सबै भन्दा पहिले नेपालगन्ज टाँगास्टैण्ड नजिक सो रामलीला नाटकको मञ्चन गर्ने शुरुवात स्व. विशेश्वरनाथ सरजुप्रसाद टण्डनबाट आयोजन हुने गरेको इतिहास छ ।
यसरी नेपालगन्जमा १५२ वर्षदेखि रामलीला नाटकको मञ्चन हुने गरेको पाइन्छ । २०७५ चैत्र ११ गतेमा कोरोना संक्रमणको कारण लकडाउन गरिएको थियो जसको कारण २०७७ मा १५३औं रामलीला नाटकको आयोजना गरिएन । अहिले पनि कोरोना संक्रमणको जोखिम रहेकोले रामलीला सञ्चालक समितिले यस वर्ष पनि कार्यक्रमको आयोजन नगर्ने सोच बनाएको देखिन्छ तर समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाले ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला प्रतिकात्मक रुपमा आयोजित गर्ने सोच राख्नु भएकोले रामलीलासँग सम्बन्धित केही कार्यक्रम गर्ने तयारी भइ रहेको कुरा जानकारीमा आएको छ तर त्यसको रुपरेखाबारे निष्कर्ष निकाल्न सकिएको छैन । समितिको आवश्यक छलफलपछि कुन प्रकारको कार्यक्रमको आयोजन गर्ने यसबारे छिनोफानो गरिनेछ ।
यसबीच नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रवार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । असोज २५ गते सोमवार पचली भैरव यात्रा गरिन्छ ।
असोज २६ गते मंगलवार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने बताइएको छ । असोज २७ गते बुधवार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । असोज २८ गते बिहीवार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रवार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजया दशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । यद्यपि त्यस दिनभर नै टीका ग्रहण गर्न मिल्ने समितिले जनाएको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
विजयादशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ खड्गयात्रा पनि यसै दिन गरिने छ आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।
