
मितिः २०७८ असोज १८ गते
विद्रोही
करीब १५ वर्षअघि बाँके जिल्लामा मधेश मिडिया मिसन नेपालको शाखा गठन गरिएको थियो । मधेश मिडिया मिसन बाँके जिल्लामा स्थापना गर्दा सो समय मधेशको आन्दोलन चरममा थियो । बराबरीको हक अधिकार पाउन मधेशी जनता सडकबाट संघर्ष गरी रहेका थिए । सो मधेशी आन्दोलनाई सघाउन यहाँ मधेश मिडिया मिसन नेपालले आफ्नो अहम भूमि निर्वाह गरेकोले बाँके जिल्लाबाट मधेशी जनअधिकार फोरम भारी मतले निर्वाचनमा विजयी भयो । मधेशी राजनीतिक दलले मधेश मिडिया मिसनबाट धेरै लाभ उठायो । तर संस्थाको विकासको लागि केही कार्य गरेन, जसको कारण आर्थिक अभावको कारण यो निष्क्रिय बन्न पुग्यो ।
एउटा कटु सत्य भन्ने हो भने निर्धक्क रुपमा भन्न सकिन्छ कि चाहे त्यो मधेशको आन्दोलन होस् वा निर्वाचन होस् मधेशी जनता र मधेशी मिडियाले मधेशी राजनीतिक दललाई तन, मन र धनले सघाए । तर सो मधेशी दल यति मौका परस्त बने कि सत्ता, कुर्सी र रकमको लोभमा आफ्नो ईमान बिक्री गरे, उनी मौका पर्दै कहिले सरकारमा सहभागी भइ खुबै सुख सुविधा लुटे । उनी मधेशी राजनीतिक दलका नेताको भाग्य फेरियो हिजोसम्म उनीसँग रिक्शाको भाडा तिर्ने र खाना खानेसम्म पैसा थिएन । तर अब उनी सत्ता साझेदार बने केही समयमा मालामाल बने । यस समय उनीले मधेशी जनताको अवस्थाबारे कुनै ध्यान दिएनन् । जब शोषित पीडित मधेशी जनताको हक अधिकारतर्फ ध्यान दिएनन् । उनी अनि मधेश मिडिया मिसनतर्फ कसरी देख्थे ?
अहिले समयमा भारी परिवर्तन आइ सकेको छ । मधेशी आन्दोलनमा सक्रिय भूमिका निभाएका कतिपयहरु अपांग बनी कुनै प्रकार दयनीय जीवनयापन गरी रहेका छन् । कतिपयहरु शहीद बने । बढी फाइदा उठाउन मधेशी राजनीतिक दल विभाजित भइ कैयन पार्टी खोली सकेका छन् । तर मधेशी जनताको अवस्था विगत जस्तो नै छ । उनीको अवस्थामा कुनै परिवर्तन आएको छैन । यसको दोषी कोही छ भने त्यो हो मधेशी राजनीतिक दलहरु । मधेशमा एउटा उक्ति छ, त्यो हो चाहे दायाँ तिघ्रा खोलियोस् चाहे बायाँ तिघ्रा खोलियोस् तिघ्रा खोल्दा लाज लाग्छ । मधेशी राजनीतिक दल मौका परस्त र अवसरवादी छन् । यिनी जसरी छेपारोले रंग फेर्छ, त्यस्तै प्रकारको रंग फेर्नमा माहिर छन् । यिनीमाथि विश्वास गर्नु आफैलाई धोका दिनु बराबर हो । मधेशी जनता अब मधेशी राजनीति दलमाथि विश्वास गर्दैनन् । यिनीहरु मधेशी जनताको प्रिय छैनन् । तर मधेशी जनता आफ्नो मधेश क्षेत्रसँग अगाध प्रेम गर्छन् र आगामी समयसम्म गर्दै रहन्छन् । मधेश क्षेत्रको उत्थानको लागि एक सच्चा मधेशी राजनीतिक दलको आवश्यकता छ । यो कमी कहिले पूरा हुने हो यो कुराको प्रतिक्षा छ । यस कारण अब प्राचीन धर्म, संस्कृति, सभ्यता, संस्कृति र परम्परा संरक्षण संवद्र्धन गर्न सक्ने मधेशी राजनीतिक दलको मधेश क्षेत्रमा आवश्यकता छ । अहिलेको मधेशी राजनीतिक दल विदेशीको चाटुकार छन् । धर्म, संस्कृति, सभ्यता, परम्पराको संरक्षण संवद्र्धन गर्ने कुरा उठ्दैमा यिनीको नाक मुख खुम्चिन्छ यिनी तुष्टिकरणको हिमायती रहेकोले बहुसंख्यक समुदायको अपहेलना गर्दै आएका छन् । अल्पसंख्यक समुदायलाई आफ्नो शिरमा बोकेका छन् । यिनी मधेशी राजनीतिक दलहरु । नागरिकता समस्या हल गर्न दबाव दिँदा विगतमा तमाम विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन उनी सफल भए । यो नेपाली नागरिकता वितरणको कारण देशमा तमाम समस्याहरु पैदा भएको छ । उनीको चित्त अहिले पनि बुझेको छैन फेरी नागरिकता समस्या हल गर्न दबाव दिँदैछन् । यो दबाव सफल भयो र फेरी नेपाली नागरिकता दिने काम भयो भने हजारौं हजार विदेशी व्यक्तिहरु नेपालको वंशजको नागरिकता पाउन सफल हुने छन् ।
अहिले केही पहाडी राजनीतिक दल भने संविधान संशोधन गर्ने पक्षमा खडा भएका छन् यिनी पहाडी राजनीतिक दल देश बेचुवा, धर्म बेचुवा र विदेशी राष्ट्रको दलाल हुन् । विगतमा नै यिनीहरुले देशको खोला नाला नदी बिक्री गर्दै असमान सन्धिहरु गरी देशसँग धोका दिए अहिले विदेशी राष्ट्रको दबावमा यिनी संविधान संशोधन गर्ने पक्षमा खडा हुँदै नागरिकता वितरण गर्ने आवाज उठाइ रहेका छन् । अहिलेको संविधान बहुसंख्यक नेपाली जनताले मानेकै छैनन् । यस कारण यो संविधान अब संशोधन नगरी सोझै खारेज गर्नुपर्ने र नयाँ संविधान लेख्नु पर्ने आवश्यक छ । त्यो नयाँ संविधान देशको प्राचीन धर्म संस्कृति सभ्यता परम्परा र देवभाषाको संरक्षण संवद्र्धन गर्ने खालको लेख्नु जरुरी छ । यो कार्य गर्न र गराउन मधेश मिडिया मिसन नेपालले अहम भूमिका निर्वाह गर्नु जरुरी छ । मधेशी जनताको आवाज बुलन्द गर्ने माध्यम मधेश मिडिया मिसन बनोस्, यस्तो चाहना मधेशी जनताको छ । सशक्त मिडियाको आवश्यकता बुझी मिसन नेपाललाई १५ वर्षपछि बाँके जिल्लामा पुनर्गठन गरिएको छ ।
यस कारण मिसन नेपालले झूठा असत्य कुरा बोल्ने विकास विरोधी, मधेशी विरोधी मधेशी राजनीतिक दललाई नांगेझार पार्नु पर्छ र मधेशी जनताको पक्षमा खडा हुने मधेशी राजनीतिक दललाई स्थापित गराउने मिसन पूरा गर्नुपर्छ । अब केही महिनापछि निर्वाचन प्रक्रिया शुरु हुन्छ । यस समय एक दुई वटा मधेशी दल सो निर्वाचनमा सहभागी हुँदैनन् अनगिनत मधेशी दलबाट उम्मेदवार देखा पर्छन् । उनी सबै आफ्नो राजनीतिक दल मधेश र मधेशी जनताको हिमायती हौं भनि सबैलाई बरगलाउन शुरु गर्छन् । यस्ता मधेशी राजनीतिक दलबाट मधेशी जनता सचेत र सजग अहिले देखि नै बन्नु जरुरी छ । यिनी मधेशी राजनीतिक दलका नेता वर्षाको समयमा निस्कने भ्यागुता मात्र हुन् । यिनी सबैलाई एउटै तराजुमा कहिल्यै तौल्न सकिँदैन, एउटा भ्यागुतालाई तराजुमा राख्दै त्यो उफ्रेर भाग्छ अनि तौल यी सबै भ्यागुताको कसरी गर्ने त ? मधेशी राजनीतिक दल मधेश क्षेत्र र मधेशी जनताको हितमा कहिल्यै काम गर्न सक्दैनन् यो कुरा विगत दिनदेखि आजसम्म देखिँदै आएको छ । यिनीहरुको उपेक्षा र बहिष्कार गरे मात्र यिनी सबै सुध्रिन्छन् जब देशमा मात्र एउटा मधेशी राजनीतिक दल अस्तित्वमा आउँछ त्यसले नै मधेश र मधेशीको हक अधिकार सुनिश्चित गर्न सक्छ । विभिन्न तमाम मधेशी राजनीतिक दल खोली यिनीले मधेशसँग गद्दारी गरेका छन् । जुन दिन एउटा मधेशी राजनीतिक दल देखा पर्छ त्यस समय मात्र मधेशलाई सबै हक अधिकार प्राप्त हुन्छ । मधेश मिडिया मिसन नेपाल मधेशी जनतालाई सचेत र सजग बनाउन सफल होस् यस्तो चाहना राखी यसको पूर्ण सफलताको कामना गर्दै पुनर्गठित कार्य समितिका पदाधिकारीहरुमा बधाई तथा शुभकामना आजको सामना साप्ताहिक व्यक्त गर्दछ ।
