
जनकपुर, १९ असोज – नेपाली भूमि मिच्ने चिनियाँ विस्तारवादविरुद्ध मधेसमा चर्कियो आन्दोलन, लाग्यो ‘गो ब्याक चाइना’को नारा
जनकपुर । नेपाली भूमि मिचेको सरकारी प्रतिवेदनबाटै पुष्टि भएपछि नेपालका विभिन्न स्थानमा आन्दोलन चर्किएको छ ।
हुम्लालगायत उत्तरी सीमा क्षेत्रमा चीनले एकलौटी रुपमा सीमा मिच्ने गरेको तथ्य बाहिर आएपछि नेपाली युवाहरु सडकमा उत्रिएका छन् । तथ्य बाहिर आउने वितिक्कै युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरे । लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघ केन्द्रीय समितिले नेपाली भूमि मिचेको विरोधमा प्रदर्शन गरेका थिए ।
माइतीघरपछि लोकतान्त्रिक युवा संघले जनकपुरमा प्रदर्शन गरेको छ । नेता प्रशासन झाको नेतृत्वमा भूमि फिर्ता माग्दै चीनविरुद्ध प्रदर्शन गरिएको हो । उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर र मिचिएको नेपाली भूमि फिर्ता गर जस्ता नारा लगाएका छन् ।
‘हाम्रो भूमि फिर्ता गर, हेपाहा प्रवृत्ति मुर्दावाद, गो ब्याक चाइना, सीमा मिच्न पाइँदैन, चिनियाँ विस्तारवाद मुर्दावाद’ भनेर उनीहरुले जोडदार रुपमा नाराबाजी गरेका थिए ।
रेल्वे स्टेशनबाट जसपाका युवाहरुले निकालेको जुलुस जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै युवा नेता झाले हस्तक्षेप बन्द गर्न चीनलाई चेतावनी दिए ।
उनले भने, ‘हुम्लाको १२ नम्बर पिलर र सगरमाथाको टुप्पोमा चीनको दावी गलत हो । यसरी गरिरहेको हस्तक्षेप बन्द नगरे कडा आन्दोलन गर्छौं ।’
