
नेपालगन्ज, २४ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट नेपालगन्ज ग्रसित रहेको बेला भेरी अस्पताल प्रा·ण भित्र रहेको नेपालगन्ज रेडक्रस सोसाईलद्वारा सञ्चालित ब्लड बैंकमा रगत अभाव देखिएको छ ।
सोही अभावलाई ध्यानमा राखी आईतबार कशौंधन वैश्य समाजद्वारा बृहत रक्तदान गरिएको छ । तर बिरामीहरुको अधिक चापले गर्दा रगत अभावमा कमी नआउने नदेखिएपछि साहू समाज जिल्ला कार्य समितिले समेत अग्रसरता देखाउँदै रक्तदान गर्ने तयारी गरेको रक्तदान कार्यक्रम संयोजक प्रदीश शाहले बताउनुभयो ।
संयोजक शाहका अनुसार साहू समाज जिल्ला कार्य समिति नेपालगन्ज (बाँके) ले जेष्ठ २९ गते शनिबार बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने बताउनुभयो । साहू समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको बैठकमा रक्तदान कार्यक्रम आयोजन गर्ने निर्णय गरिएको जानकारी संयोजक शाहले बताउनुभयो ।
गत शनिबार समाजका अध्यक्ष हंसराम साहूको अध्यक्षता सम्पन्न बैठकमा कोरोना महामारीको बेलामा बिरामीहरुलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरिएको संयोजक शाहले जानकारी गराउनुभयो ।
‘सेवा नै धर्म हो’ को नीति अनुसार मानवीय सेवामा समर्पित साहु समाजले कोरोना संक्रमणको बेला सरकारद्वारा गरिएको लकडाउनमा साहु समाजका वा अन्य समुदायका गरिब असहाय, पीडितहरुलाई खाद्यान्न वितरण गरेको थियो भने २४ सैं घण्टा सर्वसाधारणको सुरक्षामा खटिएका सुरक्षाकर्मी र प्रहरी बिटहरुमा समेत पानी, चाउचाउ, मास्क, सेनिटाईजरलगायत सामाग्री वितरण गरिएको संयोजक शाहले बताउनुभयो ।
रक्तदानका संयोजक शाहले साहु समाजका सम्पूर्ण युवाहरुले सहभागिता जनाउनुका साथै मानवीय सेवामा समर्पित कार्य भएको हुनाले नेपालगन्जमा रगत अभाव नहोस् भनी कुनै पनि वर्ग, धर्म, लिंगले समेत रगतदान गरी सहयोग गर्न नेपालगन्जबासीलाई अनुरोध गरेका छन् ।
बढीभन्दा बढी रगत दान गरी नेपालगन्जमा रहेका रगत अभावलाई केही हदसम्म भएपनि पुरा गर्न सके त्यो भन्दा ठूलो मानवीय सेवा अन्य केही हुन नसक्ने तर्क राख्दै संयोजक शाहले रगतदाताहरुको लागि खाना, फल, ग्लोकोज, फ्रूटी, राम्रो टिसर्ट, गम्छा सहित सम्मान पत्र लगायतको व्यवस्था गरिएको बताउनुभयो ।


