
नेपालगन्ज, १४ जेष्ठ – विहिबार रात भेरी अस्पताल परिसर भित्र घटेको घटनाको चौतर्फी विरोध भईरहेको बेला लोकतान्त्रिक वैचारिक प्रतिष्ठान, जिल्ला कार्यसमिति बाँकेले पनि घटनाको घोर भत्सर्ना गरेको छ ।
आज शुक्रबार लोकतान्त्रिक वैचारिक प्रतिष्ठान जिल्ला कार्यसमितिले प्रेस विज्ञप्तीमार्फत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरु माथि नेपालगन्ज स्थित भेरी अस्पतालमा विहिबार राती भएको सांघातिक हमला र आक्रमणको घोर भत्सर्ना गर्दछ भनी उल्लेख गरेको छ ।
आफ्नो जीवनको प्रवाह नगरी २४ सैं घण्टा अहोरात्र खटिने चिकित्सक, नर्स र कर्मचारीमाथि मृतकका आफन्तद्वारा ज्यान मार्ने समेतको मनसायले आक्रमण गर्ने कार्यको यस लोकतान्त्रिक वैचारिक प्रतिष्ठानले निन्दा गर्दछ ।
यो महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई संक्रमणको रोकथाम, नियन्त्रण, उपचारका क्रममा गर्नुपर्ने सबै कार्य गर्ने वातावरण दिने दायित्व भनेको सरकार, बिरामी, बिरामीको आफन्त र आम नागरिकको हुन्छ । यस्तो अवस्थामा आउने हरेक समस्याको समाधान छलफल र वार्ताबाट गर्नुपर्नेमा सो नगरी अराजक, द्वन्द र दुव्र्यवहार तर्फ उन्मुख भई स्वास्थ्यकर्मी माथि गरिएको यस प्रकारको कार्य, निकै नै तुच्छ घृणित र गैरकानुनी भएको हुँदा यस घटनाको सत्य तथ्यको पहिचान गरी प्रचलित कानुन बमोजिम दोषीमाथि हदैसम्मको कार्यवाही गरि न्याय निरोपण गरिदिन सम्बन्धित सम्पूर्ण निकायसँग यस वैचारिक प्रतिष्ठानले जोडदार माग गर्दछ भनी प्रतिष्ठान बाँके अध्यक्ष अधिवक्ता पूर्णप्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

