
नेपालगन्ज, १ जेष्ठ – नेकपा एमाले बाँकेले शनिबारदेखि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बिरामी र उनीहरुका कुरुवालाई लक्षित गरि सहुलियतदरमा खाना खुवाउने कार्य सुरुवात गरेको छ ।
कोभिड–१९ लाई लक्षित गर्दै एमाले बाँकेले खाना खुवाउने कार्य सुरु गरेको जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो । हरेक दिन बिहान र बेलुका ३० रुपियाँमा खाना खुवाईने एमाले बाँकेले जनाएको छ । खाना खुवाउने कार्यका लागि एमाले बाँकेले जिल्ला कमिटी सदस्यहरुबाट ४ लाख ६८ हजार रुपियाँ संकलन गरेको छ ।
पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले १५÷१५ हजार रुपियाँ सहयोग गर्नुभएको छ । अभियानमा केएल दुगड ग्रुप, नेपालगञ्ज शिक्षण अस्पताल लगायतको सहयोग रहेको एमाले बाँकेका सचिवालय सदस्य अव्दुल हुसेन खाँले जानकारी दिनुभयो ।
अभियानमा एमालेको कोहलपुर नगर कमिटी र बैजनाथ गाउँपालिका कमिटी, युवा संघ बाँके, युवा संघ कोहलपुर र बैजनाथ कमिटीले ब्यवस्थापन गरिरहेका छन् । सुभारम्भमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार संविधानसभा सदस्य दलबहादुर सुनार, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, कोहलपुर नगरपालिकाका प्रमुख लुटवहादुर रावत, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल, युवा संघका महासचिव दिपक जिएम, केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाछेड लगायतको सहभागिता थियो ।


