
नेपालगन्ज, २७ बैशाख – कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट विश्व आक्रान्त भएको बेला बाँके पनि कहाँ अछुतो रहन सक्नु हो । खास गरी बाँकेको केन्द्र मानिएकाे नेपालगन्ज उपमहानगरपालिका भित्र हाल कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट अवस्था भयावाह रहेको पाईन्छ ।
यस्तो भयावाह अवस्थामा भेरी अस्पतालमा दैनिक ३ सय ५० थान अक्सिजन ग्यास खपत भईरहेको छ भने भेरी अस्पताल कै प्राङ्गणमा सञ्चालन रहेको अन्जनी माता रसोईमा दैनिक ३–४ सय जनाले बिहान र साँझको खाना खाने गरेका छन् ।
भेरी अस्पतालमा दैनिक ३ सयको हाराहारीमा रहेका बिरामीहरुको चापलाई ध्यानमा राखी उनीहरुको सेवामा दिनरात नभनी सेवारत रहेका डाक्टर र नर्सहरुको सुरक्षाका लागि अन्टाद्वारा १ सय थान पि.पि.ई. किट अवधी पत्रकार संघ नेपाल जिल्ला शाखाको समन्वयमा हस्तान्तरण गरिएको छ ।
पि.पि.ई. किट उपलब्ध गराईएकोप्रति अन्टालाई धन्यवाद ज्ञापन गर्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भन्नुभयो– “अन्टाद्वारा गरिएको १०० थान पि.पि.ई. किट सहयोगले भेरी अस्पतालकाे सेवामा कार्यरत डाक्टर र नर्सहरुको लागि ठूलो सहयोग हुने बताउँदै अगामी दिनमा समेत युएस अन्टाले सहयोगलाई निरन्तरता दिने आशा रहेको बताउनुभयो ।”
त्यसैगरी, अन्जनी माता रसोईलाई संक्रमिक बिरामीहरुको लागि खाना खुवाउन समस्या नहोस् भनी अवधी पत्रकार संघ नेपाल बाँके शाखाको समन्वय र युएस अन्टाको आर्थिक सहयोगमा १ हजार जनालाई साँझ बिहान निःशुल्क खानाको व्यवस्था गरिएको छ ।
आज सोमबार अवधी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्रा र कोषाध्यक्ष सन्ध्य शर्माको विशेष उपस्थितिमा अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीद्वारा कोभिड–१९ को पूर्ण पालना गर्दै सम्बन्धित अन्जनी माता रसोई घरका सञ्चालक जितेन्द्रसिंह ठाकुरलाई उक्त १ हजार जनालाई निःशुल्क खाद्यान्न तथा रसोई घरमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमणबाट सुरक्षित राख्न १५ थान पि.पि.ई. किट हस्तान्तरण गरेएको छ ।
खाद्यान्न र पिपिई किट हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष मिश्राले अन्टाद्वारा थोरै भएपनि अवधी पत्रकार संघ नेपाल जिल्ला शाखाको समन्वयमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्नुका साथै अन्य सहयोगीहरुलाई समेत प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले अन्टाको सहयोगमा भेरी अस्पतालका कोरोना संक्रमित १ हजार बिरामीहरुले निःशुल्क खाना खाने बताउनुभयो ।
त्यसैगरी १ हजार जनालाई निःशुल्क खाद्यान्न उपलब्ध गराउन अवधी पत्रकार संघ नेपाल जिल्ला शाखाले समन्वयकारी महत्वपूर्ण भूमिका खेलकोप्रति धन्यवाद ज्ञापन गर्दै अन्जनी माता रसोईद्वारा हाल कोरोना संक्रमित बिरामीहरुको लागि खानाको साथै १ बोतल खानेेपानी तथा तातोपानी समेत निःशुल्क उपलब्ध गराउने गरिएको जानकारी सञ्चालक सिंहले गराउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी, भेरी अस्पतालका सुपरिटेण्डन डा. प्रकाश थापा, सुरक्षा निकाय, सूचना व्यवस्थापन अधिकृत जिल्ला आपदकालित कार्य सञ्चालन केन्द्रका रुपन ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।



