
नेपालगन्ज, २३ वैशाख – बाँके जिल्ला मात्र नभई देशभरी कोरोना संक्रमित बिरामीहरुको लागि प्रयोग हुने औषधिहरुमा कालोबजार शुरु भएको देखिएको छ ।
कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भईरहेको बेला हाल कोरोना भाइरस संक्रमितलाई दिइने औषधीमा कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धराबाट एक जनालाई पक्राउ गरेको छ ।
२४ हजार रुपैयाँ पर्ने रेम्डिसिभिर औषधी १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोपमा प्रहरीले गोरखाका रफिक मियाँलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार उनी खुला रूपमा औषधी बिक्री गरिरहेका थिए । उनले टिचिङ अस्पतालको सेवक फर्माबाट औषधी लगेर खुला रूपमा बिक्री गर्ने गरेको खुलेको छ ।
महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार सेवक फर्माका सञ्चालक दीपक ढकाल फरार छन् । रेम्डिसिभिर कोरोनाको उपचार गर्ने सीमित अस्पताललाई मात्र दिइने गरिएको छ ।
उक्त फर्माले त्यो औषधी कसरी ल्यायो भन्ने खुल्न बाँकी रहेको पंगेनीले बताए । ‘एउटा प्याकेटमा ६ वटा सेट हुन्छ, त्यसको मूल्य २४ हजार हो,’ पंगेनीले भने, ‘त्यो औषधीलाई १ लाख २० हजार रुपैयाँ लिएर बेचिरहेको पाइयो ।’
फरार ढकालको खोजी भइरहेको उनले बताए । पक्राउ परेकालाई कालोबजारी ऐन, संक्रामक रोग ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

