
डुडुवा, २३ बैशाख – डुडुवा गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डलाई व्यवस्थापन गर्न स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आइसोलेशन वार्डमा कोभिड संक्रमणका बिरामीलाई उपचार सेवामा सहजताका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।
बिजुलीका लागि १० वटा सोलार लाइट सेट, तीन वटा औषधी स्प्रे मेसिन र दुई थान अस्थायी शौचालयका लागि प्यान आज बिहीबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले हस्तान्तरण गर्नुभयो । समाग्री बुझ्दै पालिका अध्यक्ष चौधरीले गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डका बिरामीहरुलाई सेवा प्रदान गर्नमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।

पालिकामा सञ्चालित आपतकालिन प्रतिकार्यका लागि पुर्वतयारी कार्यक्रम अन्तर्गत सञ्चालित आइसोलेशन सेन्टरका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
डुडुवा गाउँपालिकामा अहिलेसम्म ७८ जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । त्यसमध्ये २ जना आइसोलेशनमा वार्डमा उपचार गराइरहनु भएको छ भने ७६ जना होम आइसोलेशनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार होम आइसोलेशनमा बस्ने बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ, भने उपचारका क्रममा बिरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिनेछ ।
