
नेपालगन्ज, १९ बैशाख – भाषा र साहित्यको सम्बर्धन र प्रवद्र्धन गर्न अमेरिका स्थित अप्रवासी मातृभाषी नेपालीहरुको संस्था अन्टाले नेपालको तराईका भाषा र साहित्यमा विविध कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । त्यही कार्यक्रमको उद्देश्य अनुरुप मे १ तारीखका दिन साँझ अवधी भाषा–साहित्यको वेबनार कार्यक्रम ग¥यो । अमेरिकी प्रबासमा रहेका अवधी भाषी, नेपाल तथा भारतका अवधी भाषी स्रष्टा तथा यसका अनुरागीहरुलाई एकजुट गराउने उद्देश्यले अन्टाले निरन्तर वेबनार आयोजना गर्दै आएको छ ।
सो वेबनारको दोस्रो भाग अन्तर्गत शनिवारका दिन तीन वटा प्रस्तुतीकरण भयो । अवधी लोक साहित्यका विविध पक्ष शीर्षकमा विक्रममणि त्रिपाठी, वर्तमान अवधी साहित्य तथा भावी कार्यदिशामाथि हंसावती कुर्मी र अवधी सहित्यको स्वरिणम काल विषयमा भगवान यादवले प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रमको प्रारम्भमा अन्टाकी अध्यक्ष अपरिजता झाले कोरोना संक्रमणमा परि दिवंगत भएका सम्पूर्णलाई श्रंद्धाजलि अर्पण गर्दै अवधी साहित्यलाई ऊर्जा दिन वेबनार गरिएको बताउनु भयो । कार्यकममा नेपाल, भारत लगायत अमेरिकीमा बसोबास गरिरहेका अवधी भाषीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुरुवात गौरी पाण्डेयको सुमधुर आवाजमा सजिएको कर्णस्पर्शी गीतबाट गरिएको थियो । जसले कार्यक्रमप्रति सबै जनाको ध्यानाकर्षण गर्न सफल भएको थियो । छलफलका क्रममा साहित्यको विकासबाट समाजलाई अझ गतिशिल बनाउन सकिन्छ, बर्तमान समयमा समाजमा देखिएका विकृति र विसंगीतिलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने विषय स्पष्ट गरिएको थियो ।
यस कार्यक्रमको सञ्चालन तथा सहजकर्ताको काम आलोक तिवारी र बिजय वर्माले गर्नु भएको थियो भने प्रबिधिक संयोजन रूबी देवले गर्नु भयो ।
कार्यक्रमको शुरुवातमा केही प्रविधिक समस्या उत्पन्न भएर ढिलो शुरुवात गरिएपनि कार्यक्रममा गरिएको प्रस्तुतीकरण र छलफलले सबैलाई भाषा र साहित्यप्रति जिम्मेवार र ऊर्जावान भएर प्रेरित हुन आभास गराएको थियो ।
अवधी भाषा र साहित्यको सम्बर्धन र प्रवद्र्धनको लागि अन्टाले हातेमालो गरेकोमा सबैले अन्टा अध्यक्ष अपराजिता झा र उहाँको सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरेका थिए भने अध्यक्षले सहभागिताको लागि सबलाई धन्यवाद दिंदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
