
नेपालगन्ज, ४ माघ – ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदै आएको २८औँ भूकम्प सुरक्षा दिवसको सन्दर्भमा आईतबार रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जमा विशेष संवाद कार्यक्रम आयोजना गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेसँगको समन्वयमा, भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) र रेडियो कृष्णसार एफएमको सहकार्यमा तथा मानवीय सहायता साझेदारी मञ्चको सहयोगमा आयोजना गरिएको उक्त विशेष संवाद कार्यक्रम रेडियो कृष्णसार एफएमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
वि.सं. १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको विनाशकारी महाभूकम्पको स्मरण गर्दै आयोजना गरिएको संवादमा भूकम्पीय जोखिम न्यूनीकरण, पूर्वतयारी, सुरक्षित भवन निर्माण र समुदायको भूमिकाबारे गहन छलफल गरिएको हो । नेपाल सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
विशेष संवाद कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङ, संघीय सहरी तथा भवन निर्माण आयोजना बाँकेका इन्जिनियर विजय केशर खनाल तथा नागरिक समाजतर्फबाट भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) का कार्यकारी निर्देशक डम्मर सुनार सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन रेडियो कृष्णसार एफएमकी कृष्णसारकर्मी सावित्री गिरीले गर्नुभएको थियो ।

संवादका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले भूकम्प रोक्न नसकिने र पूर्वसूचना नपाइने यथार्थबीच तपाईँ हामी सबैको तयारी नै क्षति न्यूनीकरणको मुख्य उपाय भएको बताउनुभयो । उहाँले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्वयंसेवक संस्थाबीच समन्वय, तालिमप्राप्त उद्धारकर्मीको व्यवस्था तथा आवश्यक उपकरण र स्रोतसाधनको तयारीलाई प्राथमिकताका साथ अघि बढाइँदै आएको जानकारी दिनुभयो ।
संघीय सहरी तथा भवन निर्माण आयोजना बाँकेका इन्जिनियर विजय केशर खनालले नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको मुलुक भएकाले तपाईँले घर वा कुनै पनि संरचना निर्माण गर्दा राष्ट्रिय भवन संहिता अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउनुभयो । अव्यवस्थित र अवैज्ञानिक निर्माणले जोखिम बढाइरहेको उल्लेख गर्दै उहाँले पुराना तथा कमजोर भवनको पहिचान, सुदृढीकरण र प्रभावकारी अनुगमन अपरिहार्य रहेको धारणा राख्नुभयो ।
त्यसैगरी भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) का कार्यकारी निर्देशक डम्मर सुनारले भूकम्प जोखिम न्यूनीकरणमा गैरसरकारी संस्था र समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । महिला, बालबालिका, अपांगता भएका व्यक्ति तथा वृद्धहरू भूकम्पमा बढी जोखिममा पर्ने भएकाले तपाईँको समुदायमै आधारित खोज तथा उद्धार टोली, लक्षित जनचेतना कार्यक्रम र विद्यालय तहबाटै विपद् शिक्षा आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा विद्यालय, अस्पताल तथा भीडभाड हुने स्थानहरूमा नियमित भूकम्प अभ्यास, विपद्पछिको अफवाह नियन्त्रण, प्रभावकारी सूचना प्रवाह र दीर्घकालीन पुनःस्थापनामा समुदायको सक्रिय सहभागिताको आवश्यकता पनि औंल्याइएको थियो ।
रेडियो कृष्णसार एफएमले जनाएको छ कि उक्त विशेष संवाद कार्यक्रमको अडियो तथा भिडियो सामग्री रेडियो कृष्णसार एफएमका सामाजिक सञ्जाल माध्यम (फेसबुक, युट्युब र टिकटक) मार्फत पनि हेर्न तथा सुन्न सकिनेछ ।
विशेष संवादको निष्कर्षमा वक्ताहरूले भूकम्प रोक्न नसकिने भए पनि समय मै तयारी गरेर मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्न सकिने स्पष्ट सन्देश दिनुभयो । भूकम्प उत्थानशील नेपाल निर्माणका लागि सरकार मात्र होइन, तपाईँ प्रत्येक नागरिकको सचेतना, तपाईँको घरको सुरक्षित संरचना र तपाईँको समुदायको सक्रियता अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ ।
