
नेपालगन्ज, २५ जेष्ठ – नेपालगन्ज वडा नं. ७ स्थित रहेको श्री राम जानकी मन्दिर व्यवस्थापन समितिद्वारा ७४ वर्षिय जेष्ठ नागरिकलाई बिस्थापित गरिएको छ ।
राम प्यारे बर्माको नेतृत्वमा विगत ११ वर्षदेखि कार्यरत रहेको मन्दिर व्यवस्थापन समितिले नेपालगन्ज उपमहानगरपालिकाद्वारा ५ लाख र ७ नं. वडा कार्यालयद्वारा १ लाख गरी जम्मा ६ लाख आर्थिक सहयोग संकलन गरी मन्दिर कै जग्गामा धर्मशाला निर्माण गर्न जग हालेको थियो । सोही जग हाल्ने बेला सो स्थानमा ३ पुस्तादेखि बसोबास गर्दै आईरहेका रामशरण भुजुवालाई मन्दिर व्यवस्थापन समितिले लिखित रुपमै धर्मशाला निर्माण पछि मैनेजरको व्यवस्थापनमा हजुरलाई जिम्मेवारी दिने भनी खाली गराईएको अवस्थामा आज धर्मशाला निर्माण भईसक्दा उनलाई वर्तमान मन्दिर व्यवस्थापन समितिद्वारा बिस्थापित गरिएको छ ।
हाल जेष्ठ नागरिक ७४ वर्षिय भुजुवा ७ नं. वडा कार्यालयका अध्यक्ष प्रशान्त श्रेष्ठको पहलमा महेन्द्र माध्यमिक विद्यालयमा रहेको सटरमा निःशुल्क बस्दै आईरहेको बताउँछन् । भुजुवाका अनुसार विगतका मन्दिर व्यवस्थापन समितिले मलाई लिखित रुपमा प्रस्ताव गरेको हुँदा धार्मिक कार्यमा व्यवधान राख्नु हुन्न भन्ने मनसायका साथ आफूले सो जग्गा खाली गरी आज विद्यालयको सटरमा गुजारा गर्दै आईरहेको बताउँछन् ।
सो विषय बारे ७ नं. वडा अध्यक्ष प्रशान्त श्रेष्ठले– ‘हाम्रो अभिभावकीय भूमिका रहेको तथा सो बेला म उक्त मन्दिरको कार्य समितिको जिम्मेवारीमा रहेको हुँदा मैले नै रामशरण भुजुवालाई विद्यालयमा व्यवस्थापन गरेको बताउँछन् । वडा अध्यक्ष श्रेष्ठका अनुसार हाल उनलाई धर्मशालामा व्यवस्थापन गर्न खोज्दा वर्तमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लगायतले कुनै पनि हालतमा हुन नदिने जस्तो गैर जिम्मेवारीपूर्ण भनाई सार्वजनिक गर्दै आईरहेको बताउँछन् ।
यसबारे सम्बन्धित मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश नाग– “हामीले शुरुमा जग्गा खाली गराउँदा बाँकी रहेको ४० हजार बढी विद्युत शुल्क हालसम्म नदिएको हुँदा अब पुनः उनलाई धर्मशालामा नराख्ने निर्णय गरेको बताउँछन् ।”
यहाँ बुझ्नु पर्ने कुरा के हो भने धार्मिक स्थल भनेको परोपकारी संस्था भएको हुँदा हाल रामशरण भुजुवा आफ्नो ३ पुस्ता उक्त जमिनमा बसोबास गरी बिताएको हुँदा अब उनको परिवारमा कोही नभएको अवस्थामा कहाँ जाने भन्ने प्रश्न उब्जेको छ । यस्तो अवस्थामा धार्मिक परोपकारी संस्थाले नै जेष्ठ नागरिकलाई बिस्तापित गर्न खोज्यो भने न्यायको लागि कहाँ जाने भन्ने प्रश्न उनकै मन्दिर व्यवस्थापन समितिका सदस्यहरुले उठाईरहेका छन् ।
कतिपय स्थानीयहरुका अनुसार अब यो उमेरमा उनलाई सोही धर्मशालाको जिम्मेवारी दिनुपर्ने भनाई राखिरहेका छन् भने कतिपय स्थानीयहरुले त्यसो गर्नु उचित होइन भनी रहेका छन् ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस