Wednesday, March 19सत्यम खबर
Shadow

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विद्यालय सम्वादः वातावरणीय न्यायमा विद्यालयको भूमिका बलियो बनाउँदै

नेपालगन्ज, २६ मंसिर – मानव र वन्यजन्तु बीचको बढ्दो द्वन्द्व न्यूनीकरण गर्न विद्यालय तहबाटै सचेतना अभियान थाल्नु पर्ने आवाज उठ्दैछ । राप्ती सोनारी गाउँपालिका–२ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि विद्यालय सम्वाद’ कार्यक्रममा सहभागी शिक्षक, अभिभावक र स्थानीय सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद आचार्यले बाँके राष्ट्रिय निकुञ्ज नजिकै रहेको र विद्यार्थीहरू विद्यालय बाहेकको समयमा घाँस दाउराका लागि जंगल जानु पर्ने बाध्यताका कारण वन्यजन्तुको जोखिममा पर्ने गरेको बताउनु भयो ।“विद्यार्थी र उनीहरुको परिवारलाई वन्यजन्तुसँग सुरक्षित रहने तरिकाका बारेमा कुनै जानकारी छैन र यदि क्षति भएमा राहत माग्ने प्रक्रिया बारे समेत अनभिज्ञ छन् । यसकारण विद्यालयबाटै सचेतनामूलक कार्यक्रम थाल्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

गत असोज महिनामा गोबारपुर टोलकी एक महिलालाई हात्तीले आक्रमण गर्दा गम्भीर घाइते बनाएको घटनालाई स्मरण गर्दै स्थानीय अभिभावक कमला बिष्टले निकुञ्ज प्रभावित क्षेत्रका सीमान्तकृत समुदायले अझै पर्याप्त राहत र वातावरणीय न्याय नपाएको गुनासो पोख्नु भयो ।

समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आयोजना गरेको यो सम्वाद कार्यक्रम युएसएडको सहयोगमा दएसिया फाउन्डेशन मुख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण’ अभियानमार्फत आयोजित गरिएको थियो ।

कार्यक्रममा सहजीकरण गर्दै सीसीएनका कार्यक्रम संयोजक भिमबहादुर सार्कीले वन्यजन्तुबाट हुने क्षति, राहत प्रक्रियाहरू, र वन्यजन्तु प्रभावितहरूको लागि बनेका नीतिहरूका विषयमा सहभागीहरूसँग छलफल गर्नुभयो । उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे पनि जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि, र शिक्षा शाखाका अधिकारीहरूले विद्यालय र समुदायका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् ।

सीसीएनका उपाध्यक्ष रामप्रसाद आचार्यले विद्यालय सम्वादले वातावरणीय न्याय र मानव–वन्यजन्तु द्वन्द्वका विषयमा स्थानीय तहका सरोकारवाला बीचको सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो अभियानले विद्यालयमा वातावरणीय न्याय सम्बन्धी पाठ्यक्रम विकासको सुरुवात गर्न प्रेरणा दिने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ र शिक्षा शाखाका प्रतिनिधिसहित ४२ जनाको सहभागितामा सम्पन्न यो सम्वादले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विद्यालय र समुदायको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *