
नेपालगन्ज, २३ मंसिर – बाँकेका राप्ती सोनारी गाउँपपालिका वडा नं. २ माथेबासका वन्यजन्तुबाट प्रभावित समुदायहरुले वन्यजन्तुबाट भएको कुनै पनि क्षतिमा तत्काल राहत वा क्षतिपूर्ति पाउनु पर्ने बताएका छन् ।
उनीहरुले वन्यजन्तुले निरन्तर समुदायमा नोक्सानी गरिरहेको तर पिडित परिवारले क्षतिपुर्ति समय मैं पाउन नसक्दा ठूलो समस्या परेको बताएका छन् ।
समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन) ले आइतबार आयोजना गरेको ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि गोलघर सम्वाद’ का सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
युएसएड÷द एसिया फाउण्डेशनद्वारा संचालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत सम्वाद गरिएको सीसीएनले जनाएको छ ।
माथेबासमा विशेष गरी हात्ती, बाघ र बाँदरलगायतका वन्यजन्तुले निरन्तर क्षती गर्दै आएको स्थानिय चित्रबहादुर डांगीले बताउनु भयो । उहाँले भण्डारण गरेको अन्न समेत वन्यजन्तुले खाइ दिने गरेको दुखेसो पोख्नु भयो ।जनमुखी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर खड्काले भन्नु भयो,“वन घना भएपछि वन्यजन्तु भइहाल्दो रहेछ, बाघले मेरो गाउँका छिमेकी केशबहादुर वलीको २ वटा जर्सी खाइ दिएको धेरै भयो तर उहाँले अहिलेसम्म क्षतिपूर्ति पाउनु भएको छैन । वन्यजन्तुबाट भएको क्षतिको तत्काल राहत पाउने व्यवस्था मिलाउनु पर्छ । ”
ऐलानी जग्गामा बस्ने मानिसहरुले राहत नपाउने कुराले स्थानियलाई समस्या परेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा हात्तीको आक्रमणबाट लामो समयदेखि उपचारत ३४ वर्षिय लक्ष्मी वोहोराले अहिलेसम्म उपचार खर्च नपाएको गुनासो गर्नु भयो । उहाँले उपचारका क्रममा ३ लाख रुपियाँ खर्च भएको र कतैबाट कुनै सहयोग नपाएको बताउनु भयो ।
आफुहरुले क्षतिपुर्ति के पाइन्छ र कसरी पाउने नीतिगत व्यवस्था छ भन्ने बारे थाहा नै नपाएको स्थानिय शिवलाल पाण्डेले बताउनु भयो ।
कार्यक्रममा सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले वन्यजन्तु प्रभावितहरुका लागि राहत र क्षतिपूर्ति सम्बन्धि भएका व्यवस्था र पाउने प्रकृया बारे सचेतनाका लागि गोलघर सम्बाद सुरु गरिएको बताउनु भयो ।
कार्यक्रमको सहजिकरण बरिष्ठ पत्रकार जनक नेपालले गर्नु भएको थियो । कार्यक्रममा प्रभावित क्षेत्रका ३५ जनाको सहभागिता रहेको थियो ।