
काठमाण्डौ, २४ असार – नेपाली कांग्रेसका युवा नेता विकासकुमार ठाकुरले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा चीनले ढिपि कसेको बताएका छन्।
रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा युवा नेता ठाकुरले चीनले जसरी पनि महँगो ऋण दिनेगरी सम्झौता कार्यान्वयन गर्न खोजेको तर नेपालले अनुदान वा सहुलियतपूर्ण ऋण खोजेको बताए। यही विषयमा नेपाल र चीनबीच कुरा मिल्न नसकेको हो।
नेता ठाकुरले भने, ‘बिआरआईमा हस्ताक्षर गर्नेगरी चिनियाँ विदेश उपमन्त्री सन वेइडोङ नेपाल आएका थिए।तर, चार दिनको भ्रमणमा सफल हुन सकेन। बिआरआईमा सम्झौता नभएपछि प्रधानमन्त्रीले संसदमा भने कि बिआरआई ऋणको रुपमा स्वीकार गर्न सकिँदैन, अनुदान लिन्छौँ वा सहुलियत चाहन्छौँ । तर, सम्झौता नभएपछि मुख्य खेल त्यहीँबाट सुरु भयो।’

‘प्रतीक थापालाई त्यतिकै पक्राउ गरिएको होइन, एमालेका नेताको छोरा भनेर पक्राउ गरिएको हो। बेचन झालाई गोप्य सूचनाका आधारमा उठाइएको हो। देखाउनका लागि कि नक्कली भुटानी शरणार्थीको फाइल खोल्दैछौँ भनेर। तर, कहानी त भित्रभित्र बिआरआईको थियो। एमालेमाथि दबाब बढाउने काम भइरहेको थियो,’ ठाकुरले भने, ‘तिमीहरुले यदी बिआरआईमा सम्झौता गरेनौँ भनेर सरकार ढल्छ भनेर चेतावनी दिने काम भयो।’
नेपाली राजनीतिक दल र प्रधानमन्त्री, मन्त्रीलाई चिनियाँ राजदुतले धम्की दिन थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली एक ठाउँमा आएको उनले बताए। ‘यो गठबन्धन देशका निम्ति बनेको हो। देशलाई स्थायित्व दिनका लागि, सविधान संशोधनका लागि, खुद्रे राजनीतिक दल बन्द गर्नका लागि,’ उनले भने। नेपाल पाना