
काठमाण्डौ, २४ असार – नेपाली कांग्रेसले चीन सरकारको बेल्ड एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले बिआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

कांग्रेस प्रवक्ता एवं पूर्वपरराष्ट्र तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल पहिलेदेखि नै ऋणमा रहेको र फेरि अहिले अनुदान र सहयोगमा प्राप्त परियोजना समेत पूरा गर्न नसकिएको अवस्था रहेको बताए। ‘यस्तो बेलामा थप ऋण लिएर विकास निर्माणको काम अगाडि बढाउन सकिन्नँ। अनुदान सहयोगकै उपयोग हुन नसकिरहेको अवस्थामा हामीले ऋण लिनु ठीक हुँदैन भन्ने हाम्रो निष्कर्ष छ। यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने।
नेपालले सन् २०१७ मा बिआरआईमा हस्ताक्षर गरेपनि सम्झौता सार्वजनिक भएको छैन।
डा. महतका अनुसार सरकारले बिआरआई कार्यान्वयन गर्न लागेको र चीनका उपविदेश मन्त्री आएका बेला छलफल भएको सन्दर्भमा बैठकमा छलफल भएको छ। एडीबी र विश्व बैंकको सहुलियतपूर्ण ऋण लामो समयमा तिर्ने सुविधाको अवस्थासमेत नेपालले उपयोग गर्न नसकेका बेला थप ऋण लिएर विकास निर्माण अघि बढाउन नसकिने उनले बताए। नेपाल पाना