
नेपालगन्ज, २२ फागुन – ५० औं वर्षदेखि हिन्दु धर्मावलम्बीहरुको आस्थामाथि षडयन्त्रकारीहरुद्वारा धावा गरिएको केही समय अगाडी मात्र शक्तिपिठ बागेश्वरी मन्दिरमा अवस्थित तालको पानी सुखेपछि सबैमाझ सार्वजनिक भएको छ ।
हिन्दू धर्मावलम्बीहरुले घरमा पुजा गर्दा, विजयादशमीको अवसरमा मुर्ति स्थापना गर्दा, छठ पर्वको पूजा गर्दा, भगवान जूँगे महादेवको पूजा गर्दा, बागेश्वरी माताको पूजा गर्दा, आफूलाई स्वच्छ गर्न नुहाउँदा ५० औं वर्षदेखि प्रयोग गर्दै आईरहेको तालको पानी दुषित देखिएको छ । बागेश्वरी मन्दिरमा रहेको ताल छेउछाउमा भएका घरहरुमा प्रयोग हुने शौचालयको पाईप लाईन उक्त तालमा देखिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले बताउनुभयो ।

उपमहानगर मेयर बिष्टका अनुसार केही समय अगाडी मात्र जुँगे महादेवको मन्दिर निर्माण गर्न तालको पानी फालिएको तथा उक्त पानी फलिएपछि फोहोरजन्य फाईप लाईनहरु देखिएको जानकारी गराउँदै उक्त मन्दिर निर्माणसँगै पाईप लाईन बन्द गर्नुका साथै टायल आदि लगाएर जुँगे महादेव स्थललाई सौन्दर्यकरण गर्ने बताउनुभयो ।
उक्त विषय सार्वजनिक भएपछि जनमत पार्टी बाँके महिला संघका अध्यक्ष रेखा झाद्वारा सम्बन्धित विषयको छानबिन, दोषी उपर कडाभन्दा कडा कानुनी कार्वाहीको मांगसहित ज्ञापन पत्र बुझाउने तयारी रहनुका साथै अध्यक्ष झाले यस्तो घिनौना हर्कत गर्ने, कसैको आस्थामा आघात पु¥याउने भनाई राख्दै के मूल महन्तलाई यसबारे जानकारी नभएको होला ? भनी प्रश्न समेत गर्नु भएको छ ।
तालमा दिशापिसाब युक्त फोहोरजन्य पदार्थ देखिएपछि हिन्दू धर्मावलम्बीहरुले आफ्नो रोष पोख्दै कडाभन्दा कडा कार्वाही हुनु पर्ने मांग गरेका छन् । ईश्वरी अधिकारीले लेखेका छन् ‘छया के पवित्र स्थल भन्नी हो, यो मन्दिर आसपास भएका केही घर धनीहरुलाई जति सम्झाए पनि नहुने, फोहोर, जुठो, पिठो अरुको अगाडी सडकमा थुपार्ने धर्म कर्म धेरै गर्छौ भन्ने तर सधैं मानव स्वास्थ्यमा असर पर्ने काम गर्ने देखेकै कुरा हो सम्झाउन गयो उल्टो झर्किने प्रबृत्तिका व्यक्ति छन्, यी व्यक्तिलाई खाली पैसा कमाउन छ बस ।’

यसैगरी करन बर्मा लेख्छन् ‘यो नव वर्ष पहिला त्यही नजिकको वरपर होटलहरु छन्, घरहरु छन्, फोहोर आईरहेको थियो, मैले भनेको थिए कसैले सुनेन र मन्दिरको महन्तको सम्पत्ति शुद्धिकरण गर्नुपर्छ । मदिराको प्रचार गर्ने मन्दिरमा कस्तो महन्त हो, धर्मलाई पेशा गरेछन् यो मन्दिरको संरक्षण समिति खारेज गर्नुपर्छ । को को छन् पदाधिकारीहरु ?’ भनी महन्तमाथि रोष प्रकट गर्दै प्रश्न गरेका छन् ।
यसैगरी सनातनी अभय साहनी लेख्छन् ‘ढल निकास गर्ने सम्बन्धित घरधनीहरुलाई तत्काल सार्वजनिक गराई धर्म र आस्था प्रतिको विरोध विरुद्ध कडा कारवाही गर्नु प¥यो र महन्तलाई बहिष्कार गर्नुप¥यो ।’
यसैगरी तारा बिष्ट लेख्नुहुन्छ– ‘कडाभन्दा कडा कार्वाही गर्नुपर्छ मन्दिर जस्तो पवित्र स्थानमा यस्तो पाप लाग्दो काम गर्न मिल्छ ? यस्तै यस्तै पाप गरेर मानिसहरुले विभिन्न कारणले पापको भागीदार हुनु परेको छ ।’

यसैगरी, अजय वर्नवालले लेख्छन्– ‘यस्तै ठूलो ठूलो पाप भएरै होला हाम्रो नेपालमा भुकम्प, महामारी, कोराना जस्ता आदि आएको होला र हाम्रो नेपालगन्जको मौसम, वातावरण खाराब भएको छ ।’
यसैगरी उमेश मिश्रले लेखेका छन् ‘मन्दिरमा आएको पैसाको जिम्मेवारीको सँग हुन्छ ? हिन्दु आस्थामाथि यो भन्दा ठूलो प्रहार हुनै सक्दैन ? महन्त र व्यवस्थापन समितिका पदाधिकारीहरुलाई केन्द्र र न्यायलयले छानबिन समिति बनाई दोषीहरुलाई कडाभन्दा कडा कार्वाही गर्नुपर्छ ।’
यसबारे बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगसँग प्रतिकृया लिन खोज्दा केही बोल्न चाहेनन् ।
