
नेपालगन्ज, २१ फागुन – नेपाल–भारत बीच रोटी–बेटीको सम्बन्ध भएको हुँदा समेत एउटै व्यक्तिले दोहोरो नागरिकता बनाउन नपाउने कानुनी प्रावधान भएको अवस्थामा दोहोरो नागरिकता बनाउनेहरु दुबै देशतर्फ सक्रिए रहेको तथ्य कहिले काँही सम्बन्धित प्रशासन समक्ष पुग्ने गरेको तथा कारवाही समेत हुने गरेको पाईन्छ ।

यसैक्रममा भारतको प्रदेश प्रदेश पलिया कला खीरी २६२९०२ निवासी बाबु भूपेन्द्रप्रसाद गुप्ताको छोरा विभोर गुप्ताले दोहोरो नागरिकता बनाएको भन्दै कानुनी कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा जाहेरी दर्ता गरिएको छ ।
दर्ता गरिएको जाहिरीमा विभोर गुप्ताको उत्तर प्रदेश जिल्ला लखिमपुर खीरी ११६ पलिया कला ईन्दिरा नगर वा.नं. ८ मोहल्ला अहिरान टेहरा शहरी बरवण्डामा जन्म भै निजको बुवा–आमा भारतको नागरिक भई निजहरुको आधारकार्ड, राशन कार्ड, मतदाता नामावली लगायत भारतीय भएको उल्लेख गरिएको छ ।

निज विभोर गुप्ताले झुठ्ठा विवरण पेश गरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ को ठेगाना बनाई जिल्ला प्रशासन कार्यालय बाँके मार्फत नेपाली नागरिकता बनाईसकेको दर्ता जाहेरीमा उल्लेख गरिएको छ । जाहेरीमा उल्लेख गरे अनुसार नागरिकता नं. ६६३०१९÷२२५७, बाँके जिल्ला मिति २०६३÷११÷२४ गतेका दिन उनले नेपाली नागरिकता प्राप्त गरिएको विवरण खुलाईएको छ ।
उक्त जाहेरी कैलाली धनगढी उपमहानगरपालिका वडा नं. १ बस्ने अजयकुमार गुप्ताले २०८० साल कार्तिक २ गते शुक्रबारका दिन दर्ता गरेको जनाएका छन् ।
