
नेपालगन्ज, ७ माघ – मित्र राष्ट्र भारतको उत्तर प्रदेश आयोध्यामा सम्पन्न हुन गईरहेको मर्यादा पुरुषोत्तम भगवान श्रीरामको बाल्य अवस्थाको मुर्ति प्राण प्रतिष्ठालाई हर्षोउल्लासका साथ बाँकेको नरैनापुर गाउँपालिकामा समेत मनाईएको छ ।
माघ ६ गतेदेखि नै विभिन्न धार्मिक कार्यक्रमको आयोजना पालिका भित्र रहेका मठमन्दिरहरुमा सञ्चालन गर्दै आईरहेको विश्व हिन्दु परिषद नरैनापुरले आज भगवान श्रीरामको झाँकीसहित बृहत ¥यालीको आयोजना गरेको थियो ।

आज आयोजित ¥यालीमा नरैनापुर गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ तथा राप्तीसोनारी गाउँपालिकाका करीब ७ हजार बढी सनातनीहरुले आ–आफ्नो स्थानबाट सहभागिता जनाई नरैनापुर गाउँपालिका परिक्रमा गरेका छन् ।
विश्व हिन्दु परिषद नरैनापुरका अध्यक्ष सुधिर शर्माले भगवान श्रीराम कुनै देशको नभई सम्पूर्ण सनातनीहरुको भएको हुँदा ५ सय वर्षदेखि घर बाहिर रहेको अवस्थामा घर भित्र प्रवेश गर्दा यस एतिहासिक समयलाई हामी सम्पूर्ण सनातनीहरुले खुशी, हर्षोउल्लासका साथ मनाउनु पर्ने बताएका छन् ।

यसैगरी विश्व हिन्दु परिषद प्रदेशका रामकुमार दीक्षितले आज यस खुशीको समयमा हामी सहभागी हुन पाउँदा मन प्रसन्न हुनुका साथै भोलि सोमबार पालिका भित्र रहेका मठमन्दिरहरुलाई सरसफाई गरी रामायण पाठक, राम चरित्र मानसलगायत कथा बाचन एवम् मठमन्दिर सजाउनुका साथै प्रत्येक घर आँगनमा दिपोत्सव गरी मनाउन सम्पूर्ण सनातनीहरुमा अनुरोध गरेका छन् ।

