
नेपालगन्ज, २१ असोज – विभिन्न अपराधमा घटनामा संलग्न भएकाहरुलाई बाँके प्रहरीले पक्राउ गरेको छ । आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरी एसपी ओमबहादुर रानाले पक्राउ व्यक्तिहरुको बारेमा जानकारी गराउनुभयो । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा बालिका अपहरण गर्नेदेखि जंगली जनावर मार्नेसम्मका छन् ।

यसैगरी, दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालिका अपहरणमा संलग्न बर्दिया बढैयाताल गाउँपालिका–७ का २१ बर्षीय मुकेश यादव, ५५ बर्षीय हरिराम अहिर र बढैयाताल–७ का ३५ बर्षीय अगलेश यादवलाई पक्राउ गरिएको छ ।
अगलेश यादव समेतका ब्यक्तिहरु घरमा आई पीडित नाबालिकालाई डर त्रास देखाई अपहरण गरी भारत उत्तर प्रदेश, जिल्ला गौतम बुद्धनगर, थाना बादलपुर, दुजानामा बन्धक बनाई राखेको खुलेको छ ।

बाँके प्रहरीबाट प्रहरी निरक्षिक हृदेशकुमार सापकोटाको टोलीले भारतीय प्रहरीसँग समन्वय गरि निज पीडित नाबालिकाको उद्दार गरी संलग्नलाई पक्राउ गरि अनुसन्धान भईरहेको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी गराउनुभयो ।
मुलुकी अपराध संहित ऐन २०७४ को अपहरण लिन नहुने महलको परिच्छेद १७ दफा २१४ बमोजिमको १० बर्ष देखि १५ बर्षसम्म कैद र १ लाख देखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
यसैगरी, प्रहरीले मंगलवार कटवा पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । नेपालगन्ज उहानरपालिका वडा नं २० मनिकापुर बस्ने बर्ष ६२ का सलिम नाउँ र वडा नंं. १९ बसुदेबपुर बस्ने बर्ष ३३ का ईब्राहिम बेहनालाई नरैनापुर गाउँपालिका ५ सर्वराजपुर्वा भन्ने ठाउँबाट पक्राउ गरिएको छ ।

हातहतियारको ओसार–पसार भईरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षक बसन्त गौतमको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दुबैजनालाई पक्राउ गरेका छन्् । उनीहरुको साथबाट कटुवा पेस्तोल २ थान र सलिम नाउँले लगाएको स्टकोटको वायाँ खल्तीमा रहेको कटुवा पेस्तोलमा प्रयोग हुने गोली ५ राउण्ड बरामद गरिएको प्रहरी प्रमुख रानाले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।
उनीहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिम मुद्दा चलाइएको छ । ५ बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ ।
जंगली जनावर चित्तल मार्नेपनि पक्राउ
यसैगरी, बाँकेको राप्तीसोनारी गाउँपालिकामा जंगली जनावर चित्तल मार्ने २ जना प्रहरीको फन्दामा परेका छन् । राप्तीसोनारी ६ कुण्डा चोक स्थित जंगली जनावर चित्तल मारेको सुचनाको आधारमा ईप्रका बनकट्टी र अ.प्र.पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलीले बाँके डुडुवा गाउँपालिका–४ राप्ती नदी पुलबाट स्थानीय २३ बर्षीय सामेला रोका र २८ बर्षका अन्जन हमाल पक्राउ परेका छन् ।
भे ८ प ५४६५ नम्वरको मोटरसाइकलमा फत्तेपुरबाट नेपालगन्ज तर्फ बोरामा राखेर ल्याउँदै गरेको अवस्थामा २६ कलो चित्तलको मासुसहित उनीहरु प्रहरीको फन्दामा परेका छन् । बरामद चितल जिल्ला बाँके राप्तीसोनारी ६ ढलैया बस्ने रामु वलीबाट रु ११ हजारमा खरिद गरि ल्याएको उनीहरुले वयान दिएका छन् ।
रामु ओली भने फरार छन् । उनीहरु माथि थप छानविन सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरु दोषी ठहर भए राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ क बमोजिमको १० लाखसम्म जरिवाना र ५ वर्षदेखी १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ ।
