Sunday, April 26सत्यम खबर
Shadow

नरैनापुरद्वारा प्रदेश सरकारसँग विकासका योजना माग

नरैनापुर, २१ असोज – नरैनापुर गाउँपालिकाले प्रदेश योजना आयोगसँग विकासका योजना माग गरेको छ । सुगम जिल्लाभित्र रहेर पनि विगतदेखि दुर्गमको परिचय बनाउन बाध्य भई अहिले विस्तारै विकास पथमा लम्कँदै गरेको नरैनापुर गाउँपालिकाको बृहत्तर विकासका लागि लुम्बिनी प्रदेशको योजना आयोगसँग विकासका योजना माग गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।


नरैनापुर क्षेत्रबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सांसद् कृष्णा केसी नमुनासँगै गाउँपालिकाका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, जिन्सी शाखा प्रमुख भरत महतो प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमसमक्ष विकासका योजना माग गर्नुभएको हो ।
‘नरैनापुरमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनको विकास र प्रबद्र्धनका लागि संघीय र प्रदेश सरकारलाई हामीले निरन्तर तोकता गरिरहेका छौं, विकासमा पछाडि परेको क्षेत्र भएका कारण हाम्रो बजेटले सबैतिर नभ्याउने अवस्थाका कारण निरन्तर डेलिगेशनमा गइरहेका छौं, विकास माग गरिरहेका छौं,’ अध्यक्ष शाहले भन्नुभयो– ‘शिक्षाको अवस्था सुधार्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, उत्पादन र रोजगारीमा स्थानीयलाई जोड्ने उत्कट अभिलाषाका साथ म निरन्तर लागिरहेको छु ।’
अध्यक्ष शाहका अनुसार प्रदेश योजना आयोग समक्ष राप्ती नदीमा नरैनापुरको पिप्रहवादेखि डुडुवा जोड्ने मोटरेबल पुल निर्माणका लागि बजेट माग गरिएको छ । यसले नेपालगन्ज पुग्न १८ किलोमिटर दुरी कम हुनेछ ।
त्यस्तै मटेहियादेखि सोनबर्षासम्मको ६ किलोमिटर बाटो कालोपत्रे, गंगापुरदेखि जमुनी हुँदै हुलाकी सडक जोड्ने पक्की सडक, सोनबर्षादेखि कोहला हुँदै हुलाकी रोड जोड्ने पक्की सडक, नरैनापुरदेखि अगैया जोड्ने सडक, हुलाकी सडकदेखि बानियाँगाउँ नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी रोडदेखि कोटिया नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी सडकदेखि हुलासपुर्वासम्म जोड्ने कालोपत्र सडकका लागि योजना माग गरिएको अध्यक्ष शाहले जानकारी दिनुभयो ।


‘वडा नम्बर ४ मा औद्योगिक ग्रामका लागि पनि योजना माग गरेका छौं, वडा नम्बर ४ मा रहेको गोबद्र्धन धाम, वडा नम्बर ३ स्थित बाबा बर्फानी, वडा नम्बर २ को सुन्दरमुन्दरको धार्मिक पर्यटकीय विकासका लागि पनि हामीले ध्यानाकर्षण गराएका छौं,’ अध्यक्ष शाहले भन्नुभयो । प्रदेश योजना आयोग समक्ष ७६ वटा योजना माग गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताउनुभयो ।
‘बृहत् गुरु योजना बनाएर एकिकृत स्वरुपमा प्रस्ताब पेश गर्न भन्नुभएको छ, हामी अब त्यसै अनुरुप काम अघि बढाउँछौं,’ शाहीले भन्नुभयो– ‘विकासले विगतमा गति लिन नसकेको क्षेत्रमा अब पूर्वाधारसंगै विकासका सबै आयामलाई दु्रतत्तर गतिमा अघि बढाउनुपर्दछ भन्ने अठोटका साथ जनप्रतिनिधिहरु दृढ इच्छाशक्तिका साथ लाग्नुभएको छ, त्यसमा प्रदेश सरकार र प्रदेश योजना आयोगले निकै सकारात्मक प्रतिक्रिया दिएका छन्, अब सबै मिलेर नरैनापुरको मुहार फेर्नुपर्छ ।’ प्रदेश योजना आयोगमा नरैनापुरसँगै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु लगायतको टोली पनि विकासका योजना माग गर्न संगसंगै गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *