
नेपालगन्ज, १ भाद्र – सुनसरीको धरानमा गोरु काटेर भोज गरिएको फोटो, भिडियो सार्वजनिक सञ्जालमा भाईरल भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला युवा संगठन बाँकेले बिरोध जनाएको छ ।

नेपालमा ८५ प्रतिशत हिन्दुहरुको बसोबास रहेको तथा धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोष्ट गर्नु दुःखद भएको हुनुका साथै हामी त्यसको कडा रुपमा बिरोध गर्दै राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आक्रोश पोखेका छन् ।
यसैगरी राप्रपा युवा संगठन बाँके अध्यक्ष युवराज शाही, क्षेत्रीय अध्यक्ष बिरेन्द्र महतराज, नगर अध्यक्ष विवेक गिरी, युवा नेता रबि बर्मा, राप्रपा लुम्बिनी प्रदेश उपाध्यक्ष नितु चन्द, युवा नेता दीपक प्रचण्ड सिंहलगायत ३ दर्जन बढी नेता तथा कार्यकर्ताहरुले बिरोध जनाउँदै बिपि चोकमा जक्काजाम समेत गरेका छन् ।

यसैगरी, राप्रपाले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद भएको जनाएको छ ।
बिहीबार राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वास माथि आघात पुर्ने गरी धरानमा सार्वजनिक रुपमा गौरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद् र आपत्तिजनक छ । सामाजिक सदभाव खल्बल्याउने, गरी भएका यस्ता गतिविधिप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान भएको उल्लेख गर्दै सदियैँदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट भएको जनाएको छ ।

उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
केही समय पहिले तत्कालीन प्रदेश नम्बर एकको नाम कोशी राखिएको विरोधमा प्रदर्शमा उत्रिएका पहिचानवादीहरुले सुनसरीको धरानमा गोरु काटेर भोज गरेका थिए । उक्त तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपनि केही पहिचानवादीहरु प्रहरीको नियन्त्रणमा पुगेपनि पछि रिहा भएका थिए ।

