Monday, April 20सत्यम खबर
Shadow

आइक्यानद्वारा तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेपालगन्ज, २८ श्रावण – इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) नेपालगन्ज शाखाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले साना तथा मझौला निकायहरुमा लागू हुने नेपाल वित्तीय प्रतिवेदन मान सम्बन्धी तालिम सम्पन्न गरेको छ । २०८० साल साउन २६ देखि २८ गते सम्म सञ्चालित तालिममा यस क्षेत्रका लेखा व्यवसायमा संलग्न रहेका सदस्यहरु सहभागी रहेका थिए ।
सो तालिमको उद्घाटन कार्यक्रमको सभापतित्व नेपालगन्ज शाखा समन्वय समितिका संयोजक सिए. तेजप्रकाश दीक्षितले गरेका थिए भने प्रमुख अतिथिमा संस्थाका अध्यक्ष सिए. सुजनकुमार काफ्ले तथा विशेष अतिथिमा उपाध्यक्ष सिए. प्रविनकुमार झा र पार्षद आरए. पोषराज नेपाल तथा अतिथिमा पूर्व पार्षद आरए. अब्दुल करिम खान तथा अडान बाँकेका अध्यक्ष आरए. भुवनप्रसाद गैरे रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सिए. काफ्लेले विशेष मन्तव्य राख्दै यस संस्थाका सदस्यहरुको राष्ट्र तथा सर्वसाधारण जनता प्रतिको जिम्मेवारी बोध गराउनुका साथै यस तालिम प्रतिको महत्व दर्शाएका थिए । नेपालगन्ज शाखाका शाखा प्रमुख देवराज अधिकारीले यस्ता किसिमका कार्यक्रमहरु सदस्यहरुको आवश्यकता तथा मागका आधारमा आउँदा दिनहरुमा पनि हुँदै जाने बताउँदै सक्रिय सहभागिताका लागि आग्रह गरेका थिए । यससंगै नेपालगन्ज शाखाका संयोजक सिए. दीक्षितले संख्यात्मक भन्दा गुणात्मक पक्षलाई जोड दिदै गएको तथा सोही अनुरुप कार्यक्रमहरु हुँदै जाने जानकारी गराएका थिए ।
कार्यक्रमका प्रशिक्षक सिए. संजिव ढकालद्वारा प्रभावकारी तवरले तिन दिने तालिम सञ्चालन भई आज २०८० श्रावण २८ मा सम्पूर्ण उपस्थित सहभागीहरुलाई नेपालगन्ज शाखाका संयोजक सिए. दीक्षित तथा प्रशिक्षक सिए. ढकालद्वारा प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम समापन भएको थियो ।

के हो नेपाल वित्तीय प्रतिवेदन मान
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपालमा लेखा व्यवसायको विकास, संरक्षण, संवर्धन र नियमन गर्नका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ द्वारा स्थापित नियमनकारी निकाय हो ।
अन्तर्राष्ट्रिय लेखा मानकहरूमा एकरुपता कायम गर्न अन्तर्राष्ट्रिय लेखामान बोर्डले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान जारी गरेको छ । जस अनुरुप विभिन्न देशहरुले आफ्नो देशको लेखामान तयार गर्ने गरेका छन ।
आधुनिक अर्थतन्त्रहरू सीमापार लेनदेन तथा व्यापार र अन्तर्राष्ट्रिय पुँजीको स्वतन्त्र प्रवाहमा भर पर्छन । सबै वित्तीय लेनदेन मध्ये एक तिहाइ भन्दा बढी सीमापार व्यापार हुन्छ र त्यो संख्या बढ्ने अपेक्षा गरिएको छ । विगतमा, त्यस्ता सीमापार व्यापारका गतिविधिहरू विभिन्न देशहरूले आफ्नो आवश्यकता अनुसार छुट्टाछुट्टै राष्ट्रिय लेखा मापदण्डहरूको आफ्नै सेटहरू कायम राखेका थिए । अन्तर्राष्ट्रिय रुपमा नै लेखाविधि र वित्तीय प्रतिवेदनमा एकरुपता ल्याउन अन्तर्राष्ट्रिय लेखामान बोर्डले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान जारी गर्दछ ।
नेपाल लेखामान बोर्डले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान बमोजिम नेपाल वित्तीय प्रतिवेदन मान तयार गरि लागु गरेको छ । पहिलो चरणमा बैंक, बीमा, सुचीकृत कम्पनी तथा अन्य ठुला निकायमा पहिले नै नेपाल वित्तीय प्रतिवेदन मान लागु भइसकेको छ । दोस्रो चरणमा २०८० साउन १ गते देखि साना तथा मझौला निकायहरुको लागि नेपाल वित्तीय प्रतिवेदन मान लागु भएको छ । जस अनुरुप अब तयार गरिने सम्पूर्ण वित्तीय प्रतिवेदन नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम तयार गर्नुपर्ने बाध्यकारी ब्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *