Tuesday, April 21सत्यम खबर
Shadow

१०० रुपैयाँको सामानमा भन्सार कडाइका साथ पालना गर्न लगाउने : अध्यक्ष पदका उम्मेदवार धामी

नेपालगन्ज, २९ श्रावण – नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्षका उम्मेदवार टंकबहादुर धामीले बाँकेमा संघका २५ हजार सदस्य हुन सक्ने बताएका छन् ।
नेपालगन्ज जेसिसले आईतबार नेपालगन्जको त्रिभुवन चोकमा आयोजना गरेका ककस कार्यक्रममा उद्योगी व्यवसायीले संघको सदस्यता धेरै विस्तार किन गरेको भन्ने जिज्ञासामा अध्यक्ष पदका उम्मेदवार धामीले नेपालगन्ज उद्योग वाणिज्य संघले पहिलो पटक जिल्ला संघको स्वरुपमा जिल्लाभरी सदस्यता विस्तार गरेको बताए । उनले भने, ‘नेपालगन्जमा मात्र १५ हजार उद्योगी व्यवसायी छन् । सबैलाई समेट्न सकिएको छैन । जिल्ला भरी त करिब २५ हजार उद्योगी व्यवसायी छन् । ती सबै संघको सदस्य बन्न सक्छन् ।’ सदस्यता शुल्क बढी भयो भन्ने अर्को जिज्ञासामा भने धामीले साधारणसभाबाट सदस्यता शुल्क निर्धारण गरेर जान आफू तयार रहेको बताएका थिए ।
महिलालाई ३३ प्रतिशत उम्मेदवार नबनाएको बारे उनले संघमा महिलाको कम प्रतिनिधित्व भएको स्वीकार्दै बढी भन्दा बढी महिलालाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिएका थिए ।
बाँकेमा ब्यापारजन्य फोहर व्यवस्थापन कसरी गर्ने योजना छ भन्ने अर्को जिज्ञासामा भने धामीले फोहरलाई मोहर बनाउन तीन तहकै सरकारसँग समन्वय गर्ने बताएका थिए । जमुनाहा नाकामा १०० रुपैयाँको सामानमा भन्सार गर्नुपर्ने नियमलाई कडाइका साथ पालना गर्न लगाउन संघले दवाब दिने उनको भनाइ थियो । धामीले धारणा राख्दा उद्योगी व्यवसायीहरुले गडगडाहट ताली बजाएका थिए ।
कार्यक्रममा समावेशी प्यानल र प्यानलका अध्यक्ष टंकबहादुर धामीको परिचय प्यानलको प्रकाशन समितिका संयोजक कोषराज रेग्मीले गरेका थिए । रेग्मीले उद्योग व्यवसाय क्षेत्रका दर्जन भन्दा बढी क्षेत्रका व्यक्तिलाई समेटेर समावेशी प्यानल बनाएकाले मतदान गर्न उद्योगी व्यवसायीसँग आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *