
नेपालगन्ज, ९ जेठ – नेपालगन्जको सुर्खेतरोड स्थित ठुलो नालाको पुल करिब ८–१० मिटर रहेपनि निकास मात्र ३ मिटर चौडाइ भएकाले पानी थुनिएर समस्या भएपछि त्यसलाई चौडा बनाउनका लागि टेण्डर आव्हन भएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जले उक्त नालाको चौडाई पुर्न निमार्णका लागि सोमबार टेण्डर आवहान गरेको सडक डिभिजन कार्यालयका प्रमुख निरज शाक्यले बताउनुभयो ।
नालाबाट पानी बग्ने मुहानलाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज शहर डुब्ने समस्याको अब अन्त्य हुनेछ । बाँकेका सांसद लक्ष्मी तिवारीको विशेष पहलमा उक्त निर्माणको कार्य यसै आर्थिक वर्षमा हुने प्रमुख शाक्यले बताउनुभयो ।
वर्षौदेखिको उक्त समस्याका बारेमा नेपालगन्ज सेतुविक चोक स्थित होटल व्यवसायी गोपाल गिरीलगायत स्थानीयले पटक–पटक नेपालगन्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसँग आग्रह गर्दा समेत कुनै सुनुवाई नभएपछि सांसद तिवारीले यो सवाललाई संघिय सरकार समक्ष दबाब दिएपछि निर्माणको कार्य अघि बढेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधी सभा सदस्य तिवारीले नेपालगन्ज सुर्खेतरोड सडक खण्ड अन्तर्गत जिल्ला शिक्षा इकाई कार्यालय नजिक रहेको मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुलको चौडाई बढाएर निकास फराकिलो बनाउनका लागि सम्वन्धित सरोकारवालासँग पुगेर पहल गर्दा काम हुने निश्चित भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
संसाद तिवारीले भन्नुभयो, “नेपालगन्ज शहरको मुख्य समस्या ढल निकास र डुबानलाई दिर्घकालिन समाधान गर्नु पर्दछ, त्यसका लागि मेरो पहल पहिलो भयो ।” स्थानीयको समस्या लिएर सांसद तिवारीले सडक डिभिजन कार्यालय, क्षेत्रीय सडक डिभिजन, नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय सम्म धाएर नाला पुलको चौडाई बढाउनका लागि लाग्ने लागत स्टिमेट रु तीस लाख बजेट व्यवस्थापन गराउनु भएको हो ।
सांसद तिवारीले यो समस्यालाई लिएर सडक डिभिजन कार्यालय नेपालगन्ज प्रमुख निरज शाक्य, अर्थसचिव अर्जुनप्रसाद पोख्रेललगायतसँग भेटेर समस्या राख्दा तत्काल निर्माणको कार्य अघि बढाउने सहमती भएर अहिले टेण्डरको सूचना समेत प्रकाशन भएको सांसद तिवारीका निजी सल्लाहकार रविन्द्रकुमार ज्ञवालीले बताउनुभयो ।
नेपालगन्ज नगर भित्रका प्रायःकरिब ८० प्रतिशत सडक तथा नालाहरु निर्माण भईसकेको छ । तर नाला निर्माण भएपनि वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रयाप्त पानीको निकास थुनिएपछि शहर डुबानमा पर्ने समस्या अब समाधान हुनेछ ।
सल्लाहकार ज्ञवालीका अनुसार सांसद तिवारीले यस क्षेत्रका विकास निर्माण तथा सार्वजनिक सरोकारको सवाललाई मुख्य प्राथमिकताका साथ उठाएर समाधानका लागि पहल गर्नुहुनेछ भने ती सवालहरुलाई आफ्नो कार्ययोजनामा समेत समेटनु भएको छ ।
वर्षाको समयमा नेपालगन्जमा केही बेर पानी परेपछि सेतु विकचोक र घरबारीटोल, गणेशपुर, न्युरोडलगायतका स्थानहरु जल मग्न भई घरभित्र समेत पानी भर्ने समस्या रहेको स्थानीय बताउँछन् ।
