Sunday, April 26सत्यम खबर
Shadow

बुद्ध जयन्तीमा प्रोपोगण्डा फैलाउन लुम्विनीमा चिनियॅा दुतावासको कर्तुतको चौतर्फी आलोचना, कार्यक्रम रोक्न माग

काठमाण्डौ, २५ बैशाख – शुक्रबार २५६७ औं बुद्धजयन्ती दिवस । सरकारले सार्वजनिक विदा दिनुका साथै बुद्धजयन्तीलाई भव्य रुपमा मनाउने तयारी पनि गरेको छ ।

लुम्बिनी विकास कोषले बुद्धजयन्ती दिवसलाई भव्य रुपम मनाउन मुल व्यवस्थान समिति र विभिन्न उपसमिति गठन गरेर तयारी गरिरहेको छ । सरकारले बुद्धजयन्ती भव्यरुपमा मनाउने तयारी गरिरहेका बेला चिनियाँ दूतावासको कामले भने यतिबेला लुम्बिनी विकास कोष नै चिन्तामा छ । चिनियाँ दूतावासले बुद्धजयन्ती दिवसका अवसरमा विश्व सम्पदा सूचीमा रहेको मायादेवी मन्दिर परिसरमै माइकहरु जोडेर आमसभा शैलीमा कार्यक्रम गर्दैछ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथी हुने उक्त कार्यक्रम चिनियाँ दूतावासले आयोजना गर्न लागेको हो । ध्यान केन्द्र मायादेवी मन्दिर परिसरमै आमसभाका शैलीमा कार्यक्रम गर्ने चिनियाँ दूतावासको तयारीको कतिपयले आलोचना गरेका छन् । बुद्धभूमीमा शान्त हुनुपर्नेमा बुद्धजयन्ती मनाउने नाममा मायादेवी मन्दिर परिसरमै कार्यक्रम हुनु उपयुक्त नहुने उनीहरुको भनाई छ ।

चिनियाँ दूतावासले आयोजना गर्ने उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि हुनेछन् भने संघीय सरकारका मन्त्री र प्रदेश मुख्यमन्त्रीसहित मन्त्री, सांसद र कुटनीतिक नियोगका अधिकारीलाई पनि निम्तो दिइएको छ । बुद्धजयन्ती दिवसलाई भव्य रुपमा मनाउनु स्वभाविक भएपनि मायादेवी गार्डेनमा आमसभा शैलीमा कार्यक्रम हुनु उपयुक्त नहुने भन्दै कतिपय बौद्धमार्गीहरुले नै विरोध जनाएका छन् । उनीहरुले लुम्बिनीमा नेपाली र विभिन्न देशका बौद्धमार्गीहरु ध्यान गर्न आउने गरेका छन् । त्यस्तै सर्वसाधारणहरु पनि ध्यान गर्न लुम्बिनी पुग्ने गरेका छन् ।

विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी क्षेत्रभित्र ठूला ठूला कार्यक्रम गर्न नमिल्ने प्रावधान छ । संयुक्त राष्ट्र सङ्घिय निकाय युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राखेको हो । विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी क्षेत्र, त्यसमा पनि मायादेवी मन्दिर परिसरमै ठूला ठूला माइक जोडेर कार्यक्रम गर्ने चिनियाँ दूतावासको कार्यलाई कतिपयले चिनियाँ दादागिरी भनेका छन् । विश्व सम्पदा सूचीमा रहेका स्थलको सुरक्षा, संरक्षण र त्यसको सम्वद्र्धन गर्नुपर्नेमा उल्टै विदेशी निकायले आमसभा शैलीमा शान्ति क्षेत्रमा कार्यक्रम आयोजना गर्नु कुटनीतिक मर्यादा विपरीत भएकोसमेत आरोप लगाएका छन् । उनीहरुले उक्त कार्यक्रमले बुद्ध भगवानकै अवमूल्यन भएकोसमेत दावी गरे ।

बुद्धजयन्तीका दिनमात्रै यस्ता कार्यक्रम गर्नुभन्दा अरु बेला बुद्धस्थलको संरक्षण र सम्वद्र्धनमा ध्यान दिन उचित हुने बौद्धमार्गीको सुझाव छ । उनीहरुले बुद्धभूमीलाई राजनीतिक कार्यक्रम गर्ने मैदानका रुपमा परिणत नगर्न पनि लुम्बिनी विकास कोषलाई आग्रह गरेका छन् । उक्त कार्यक्रममा सहभागी हुन चाइना रिलिजियस कल्चर कम्यूनिकेसन एशोसिएसनका महासचिव हान साङ काठमाडौं आइपुगेका छन् । उनी ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आएको बताइएको छ ।

‘संसारभरका बौद्धमार्गीको आस्थाको केन्द्र रहेको पवित्रस्थल जहाँ बौद्धमार्गीहरु ध्यानमा हुन्छन्, त्यस्तो ठाउँमा विदेशी संस्थाले आमसभा गर्ने गरी कार्यक्रम गर्न राम्रो होइन,’ एक बौद्धमार्गीले भने, ‘सरकारले नै त्यहाँ कार्यक्रम गर्न नदिनुपर्ने हो ।’ नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *