
नेपालगन्ज, ६ बैशाख – नेपालको मुग्लिनदेखि पोखरासम्म निर्माणाधिन सडक क्षेत्रमा चिनीया इन्जिनियरमाथि नेपाली नागरिकद्वारा हातापाई भएको घटनाले एउटा सांकेतिक विद्रोहको दनक दिएको छ । नेपालमा बनाईने कैयन नयाँ परियोजनाहरु चीनले अनेक किसिमका हतकण्डा अपनाई त्यसको ठेक्का–पट्टा आफ्नो हातमा पार्ने गरेको पाईन्छ ।
यस्तै घटनाहरु मध्ये एक हो मुग्लिन–पोखरा सडक परियोजना । यस परियोजना अन्तर्गत बाटो फराकिलो बनाउने निहँुमा स्थानिय बासिन्दाहरुलाई अनावश्यक रुपमा दुःख दिनु, अभद्रताका साथ व्यवहार गर्नु आदिले नेपाली स्थानीय जनमानस चीनको प्रति धेरै सक्त बनेका छन् । यस विषयको सामान्य बिरोध जनाउँदा चीनका इन्जिनियरले अभद्र व्यवहार देखाए पश्चात केही बादविवाद भएको हो ।
तर यस्ता झिना मसिना घटनालाई सन्दर्भ बनाएर चीनको “चाइना कम्यूनिकेशन कन्सट्रक्सन कम्पनी लिमिटेड” ले गत २४ मार्ग २०२३ मा नेपालका पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठ (हाल गृहमन्त्री) लाई पत्राचार गरेर अप्रत्यक्ष रुपमा चेतावनी नै दिएको थियो । आफ्नो नागरिकको भौतिक सुरक्षाको माग गर्दै यस्ता घटनाको निरन्तरता सह्य नहुने संकेत गरेको थियो । यस अतिरिक्त यस्ता घटनाहरुले परियोजनाको कार्य प्रगतिमा पनि बाधा उत्पान्न हुने भन्दै आफ्नो ढिलाईलाई ढाकछोप गर्ने चतुराई देखाएको जानकारहरुको बुझाई रहेको छ ।
आज पर्यन्तका घटनामा चीनले कुनै पनि परियोजना समयमा वा तोकिएको अवधि भित्र नेपाललाई हस्तान्तरण गरेको देखिन्न । एक त नेपालको परियोजनालाई अनावश्यक रुपमा तन्काएर राष्ट्रको दोहन गर्नु, आर्थिक भार थप्नुका अतिरिक्त स्थानीय नागरिकलाई दुःख कष्ट दिनु अनि आफ्नो इन्जिनियर नागरिकको सुरक्षाको प्रत्याभूतिको नाममा सम्बन्धित नेपाली मन्त्रीलाई धम्कीपूर्ण पत्राचार गर्नु यस्ता दुस्साहसले चीनले नेपाललाई के कस्तो व्यवहार गर्न खोजेको छ स्पष्ट हुन्छ ।
नेपालले यदि साँच्चै आफ्नो आत्मसम्मानको रक्षा गर्ने हो भने कुनै पनि परियोजना कार्यान्वयन गर्नु भन्दा अघि विश्वका अन्य तकनिकि सम्पन्न राष्ट्रहरुलाई सामेल गराई बिडिङ्ग आव्हान गर्नु जरुरी छ । यसो गर्नाले एक त कार्य प्रगति सुचारु रुपले अधिक प्रभावकारी ढंगमा सम्पन्न हुनका अतिरिक्त आफ्नो आत्मसम्मान र नागरिकको रक्षा हुने सर्वसाधारण नेपाली नागरिकको भनाई रहेको छ । फोटो गुगल
