Wednesday, May 6सत्यम खबर
Shadow

वर्ष २०७९, कला–केन्द्र, कलाकार र गतिविधिहरू

मितिः २०८० बैशाख ६ गते, बुधबार (संस्मरण)


– नगेन्द्र प्र.पौड्याल
(ललितकला अध्येता)

सधैका वर्षहरूमा झैं भर्खरै समाप्त भएको बिक्रम सम्बतीय वर्ष २०७९ मा पनि नेपालको ललितकलाका क्षेत्रमा विभिन्न गतिविधिहरू सम्पन्न गरिए । ततस्थानिय समेतका विभिन्न कला कार्यशाला, कला प्रदर्शनीहरू, कला विषयक छलफल, गोष्ठी, कलाजन्य भ्रमण र प्रत्येक चारवर्षमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पदाधिकारीका निमित्त नियुक्त गरिनुपर्ने पदाधिकारीहरूको नियुक्तिका कामहरू पनि गरिए । जे जो गरिनु पर्ने बोध र कर्तब्य जसजसमा रह्यो, आआफ्नै कार्याधिकार र गच्छे अनुसारका गतिविधिहरूमा सम्बन्धित क्षेत्र लागिपर्यो ।

सरसर्ति हेर्दा अन्य वर्षहरूमा झैं वर्ष २०७९ मा पनि थुप्रै ललितकर्मीहरू र ललितकला संघ संस्थाहरू, कला दीर्घाहरू नेपाल कला परिषद्, बबरमहल, तारागाउँ संग्राहलय, बौध्द, सिध्दार्थ आर्ट ग्यालरी, बबरमहल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्साल, नेपाली कलाको संग्राहलय (म्यूजियम अफ नेपाली आर्ट, मुना), ठमेल तथा अन्य थुप्रै ललितकलाजन्य केन्द्रहरूमा विभिन्न गतिविधिहरूका साथ देखापरे ।

यथार्थतः ललितकला नितान्त सिर्जनात्मक विषय हो । ललितकलाले लालित्य परावर्तित गरेको रहनु पर्दछ र परिणाममा लालित्य प्रज्ञान प्रकाशित गर्न सकेको हुनुपर्दछ । मात्र होईन, राष्ट्रको सिर्जनात्मक र सौन्दर्यको गरिमाका निमित्त ललितकलाका र लालित्यका गतिविधिहरूले राष्ट्रको समग्र परिचयलाई नै परावर्तित गरिरहेको हुन्छ । यसका निमित्त यस्ता कुनैपनि गतिविधिभित्रको विशिष्टतालाई आंकलन गरेर राष्ट्रिय परिप्रेक्षमा तिनको उपादेयता पहिल्याउँनु पर्ने हुन्छ जो कुनै छोटो लेखमा सम्भव नरहने हुनसक्दछ ।

वर्ष २०७९ का कलाका केन्द्र र कला गतिविधिहरूको चर्चागर्दा ललितकलाजन्य साखहरू सहित असोज २०४४ मा स्थापित रहेको सिध्दार्थ आर्ट ग्यालरी, बबरमहलले आयोजना गरिआएका कुनैपनि कला प्रदर्शनीहरूलाई उच्च मूल्याङ्कनका साथ सम्झन हिचकिचाईरहनु पर्ने देखिदैन । सविता डङ्गोलको एकल प्रदर्शनीको निरन्तरताका बीच वर्ष २०७९ मा प्रवेश गरेको सिध्दार्थ आर्ट ग्यालरीको वर्ष २०७९ समृध्द मुखियाको ’सपना’, प्राकृतिक तन्तुजन्य सामग्रीबाट निर्मित बुनकरी कला, प्रसिध्द मृत्तिका मूर्तिकार गोपाल कलाप्रेमी श्रेष्ठको ’कला, चिया र प्रकृति’ र चित्रकार कीरण मानन्धरको ’समर्पण’ एकल प्रदर्शनी हुँदै ईशान परियार र सविता डङ्गोलको ’कम्पेटिवल थट्स’ तथा चित्रकार रागीनी उपाध्यायको ’रागिनी उपाध्याय’ सिंहावलोकन प्रदर्शनी सम्म अविरल बढेको देखिन्छ । यसो त परियार र डङ्गोल अघि यस ग्यलरीमा स्थापित चित्रकार विनोद प्रधान ’सेक्रेड रियाल्म्स’ लिएर प्रस्तुत रहेका हुन् ।

सिध्दार्थमा वर्ष २०७९ का विभिन्न मितिमा भियतनामी कलाकार बिन्ह् न्हीको ’आवाजविहिनता’, वाङ्लादेशका दस चित्रकारहरूको सामुहिक आदि महत्वपूर्ण प्रदर्शनीहरू भएका छन् । र, यस ग्यालरीका हरेक प्रदर्शनीहरूले वर्ष २०७९ मा पनि आआफ्नो सीमाका लालित्य परावर्तन र लालित्य प्रज्ञान प्रकाशित गरेको रहेको छ ।

चित्रकार रागीनी उपाध्यायको सिंहावलोकन प्रदर्शनीको आयोजना सिध्दार्थ आर्ट ग्यालरीको वर्ष २०७९ को यस्तो प्रदर्शनीका रूपमा आएको देखिन्छ जसले समानान्तर महत्तामा चित्रकार रागीनी उपाध्यायको कलाजन्य उचाईलाई प्रक्षेपित गर्ने ऐतिहासिकता समेत समेटेको छ ।

यसैगरी २०७९ वर्षको आरम्भ देखि नै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक राष्ट्रिय ललितकला प्रदर्शनीको समेत आरम्भ भएको पक्षले नेपालको कलाका क्षेत्रमा स्वभाविकै महत्व लिएको मान्न सकिन्छ । सरकारी वित्तबाट सञ्चालन गरिदै आएको उक्त प्रदर्शनी सहभागी कलाकारहरूका निमित्त वर्षभरीमा आउँने पर्वविशेषका रूपमा समेत ग्राह्यित मान्न सकिन्छ ।

यसो त ललितकला प्रज्ञा–प्रतिष्ठानको वर्ष २०७९ को पूर्वार्ध्द पुराना कार्यकारीहरूको कार्यकाल समाप्तिको अवधिका रूपमा समेत रहेको हो । यसै कारणले पनि हुन सक्छ यस बीच पुस्तक लोकार्पण र पुस्तक प्रदर्शनी आदि साधरण महत्वका गतिविधि बाहेक प्रतिष्ठानमा वा मातहतको परिसरमा कुनै उल्लेख्य गतिविधि देखा परेनन् ।

वर्षको उत्तरार्ध्दमा भने प्रतिष्ठानमा नयाँ कार्यकारीहरूको नियुक्ति महत्वपूर्ण बनेर रह्यो । नारदमणी हार्म्छालीको नेतृत्वमा नयाँ कार्यकारीहरूको नियुक्ति भयो । नयाँ कार्यकारीमा ठोस परिणामहरू दिने प्रयत्न र जोड देखियो । व्यवस्थापकिय अन्तरकृयात्मकता प्राथमिक भएर आएको स्थिति देखियो । दायित्व प्रतिको तदारूकता, सुदूरदर्शी अवधारणा र आन्तरिक अठोटहरू बाहिर आएका रहे । यो भनेको पर्ख र हेरको स्थिति रह्यो ।

यसै सन्दर्भमा नेपालमा बि. सं. २०१९ मा स्थापित नेपाल कला परिषद्, बबरमहलको महत्वलाई भने अर्को प्रथमिकतामा लिनुपर्ने रहेकोछ । यस परिषदको भवनमा निजी क्षेत्रबाट वर्षभरि नै कुनै न कुनै तप्काका कला गतिविधिहरू भईरहेका हुन्छन् । सामग्रीकारलाई कला परिषदको भवनमा वर्ष २०७९ को श्रावणमा भएको “झिमरूकतिर“ शीर्षक गरिएको प्रदर्शनीको अवलोकनको स्मरण छ । “झिमरूकतिर“ मा प्रदर्शित कलाअध्येता रतन कुमार राईको चित्र सामग्रीकारको मानसमा विशेष बनेर रहेको छ । लगत्तै काठमाण्डौ विश्वविद्यालयको सेण्टर फर आर्ट एण्ड डिजाईनको आयोजनाको “ईम्प्रेसन्स“ शीर्षक गरि गरिएको प्रदर्शनी अवलोकनको स्मरण छ । वर्षको पूर्वार्ध्दका यिन प्रदर्शनीका आयोजना बाहेक परिषदमा वर्ष २०७९ मा थुप्रै एकल तथा सामुहिक ललितकला प्रदर्शनीहरू अनवरत रहेको सर्वविदित नै छ । ज्ञातब्य छ, सिध्दार्थ आर्ट ग्यालरीको आयोजना रहेको माथि उल्लेखित चित्रकार रागीनी उपाध्यायको सिंहावलोकन प्रदर्शनी पनि यसै परिषदमा आयोजित रहेको हो ।

यिन बाहेक वर्ष २०७९ मा नेपाल हस्तकला महासंघ (फेडेरेसन अफ हेण्डिक्र्याफ्ट्स एसोसिएसन अफ नेपाल) सँगको सहआयोजनमा नेपाल कला परिषद आफैले पनि “डेईटिज अफ नेपाल“ शीर्षकको बृहद ललितकला प्रदर्शनीको आयोजना सम्पन्न गरेर आफ्नो मात्र नभएर वर्षको नै उत्कृष्ट कला गतिविधि प्रकाशित गरेको हो । यस सन्दर्भमा नेपाल हस्तकला महासंघको सहकार्य समान हकदार रहेको विषय प्रसंशेय छ । स्मरणिय छ, हस्तकला महासंघ नेपालमा हस्तकला गतिविधिको नितान्त सकृय र सफल संस्थाका रूपमा स्थापित रहेको छ । “डेईटिज अफ नेपाल“ प्रदर्शनीमा नेपालका वयोबृध्द र विशिष्ठ कलाकार शशी विक्रम शाह देखि वरिष्ठ कला–अध्येताहरू एस सि सुमन तथा सामग्रीकार स्वयम् समेत अधिकांशको सहभागिताले प्रदर्शनीको सफलतालाई थप परावर्तित गरेको रह्यो ।

यसो त नेपालको कला गतिविधिका सन्दर्भमा तारागाउँ संग्राहलय, बौध्दको इतिहास र भूमिका आफ्नै वैशिष्ठ्यको रहेको महत्वपूर्ण छ । बि. सं. २०२९ मा निर्माण भएर २०७१ मा पुनर्सञ्चालनमा रहेको तारागाउँ संग्राहलय संग्रहकार्यमा मात्र केन्द्रित नरहेर विभिन्न ललितकला प्रदर्शनीहरू, बौध्दिक विमर्श र सापेक्ष र फरक प्रस्तुतिहरू समेतमा सकृय रहिआएको छ । तारागाउँ संग्राहलय मार्फत समेत वर्ष २०७९ मा महत्वपूर्ण थुप्रै कला गतिविधि आयोजित रहेको हो । वर्षको आरम्भमा नै यस संग्राहलयमा रहेको प्रदर्शनी दीर्घामा “कल्पा“, ’हिमालय कलाको अनन्त सम्पदा’ शीर्षक गरेर अठ्ठाईस नेपाली थाङ्का चित्रकार तथा व्यवसायीका ५० चित्रकृतिको सहभागीताको महत्वपूर्ण प्रदर्शनी आयोजित रहेको हो । आँकलन गर्दैजाँदा यो एक उल्लेखनिय प्रदर्शनी देखिन्छ जसको आयोजन हेरिटेज सर्कलका मिनो लामाले गरेका थिए । तारागाँउ संग्राहलयमा पछिल्लो कला गतिविधिका रूपमा वर्षान्तको चैत्र ८ गते मात्रपनि नवौं प्रवचन श्रृंखलाका रूपमा “ग्रीन भ्याल्ली भिएस कङ्कृट भ्याली“ शीर्षकमा उल्फगाङ्ग कोर्नको प्रवचनको आयोजना सम्पन्न भएको छ जसलाई संग्राहलयको विशेष कलागतिविधिको उदाहरणका रूपमा लिन सकिन्छ ।

नेपालको सन्दर्भमा केहीवर्ष यता नेपालकै व्यपारको केन्द्रविन्दु ठमेल स्थित काठमाण्डौ गेष्ट हाउसमा रहेको म्यूजियम अफ नेपाली आर्ट समेत २०७९ को उल्लेखनीय कला–गतिविधिको केन्द्रका स्थानमा भएर देखापरेको छ । नियमितका अतिरिक्त यस संग्राहलयमा वर्ष २०७९ को उल्लेख्य गतिविधिका रूपमा पौभाकलाका विशिष्ठ चित्रकार लोक चित्रकारका चित्रकृतिहरूको एकल प्रदर्शनी चालू रहेको छ । यहाँ चालुरहेको यो प्रदर्शनी पनि चित्रकार लोक चित्रकारका कृतिको प्रकाशन मात्र नरहेर नेपालको मौलिक पौभा परम्पराको मानकीय प्रदर्शनीका रूपमा रहेको निर्क्यौल लिन सकिन्छ ।

वर्ष २०७९ मा नै काठमाण्डौ आर्ट्स होटल, ठमेल स्थित काठमाण्डौ आर्ट्स होटलमा समेत चैत्र १७ देखि २३ गतेसम्म लायन्स क्लव अफ काठमाण्डौ फाईन आर्ट्सको तेश्रो वार्षिक ललितकला प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीको आयोजनाबाट नेपालको ललितकला क्षेत्रमा लायन्स क्लव अफ काठमाण्डौ फाईन आर्ट्स् नयाँ सम्भावनाको जवरजस्त उपस्थितिका रूपमा देखापरेको छ । स्मरणीय छ, लायन्स क्लव अफ काठमाण्डौ फाईन आर्ट्स अन्तर्राष्ट्रिय साखको लायन्स ईण्टरनेशनलको ईकाई संस्था हो जसको गतिविधिलाई सोही हैसियतमा आँकलन गर्नु समीचीन रहनेछ ।

यसै वर्ष २०७९ मा नेपाली राजदूतावास, वाङ्लादेश समेत नेपाली ललितकला गतिविधिको परिधिभित्र जोडिएर आएकोछ । वर्ष २०७९ मा नेपाली राजदूतावास, वाङ्लादेशले वाङ्लादेश–नेपाल मैत्री समाजसँगको सहकार्यमा ढाकामा दुई देशबीच मैत्री तथा कूटनैतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षोत्सव गरी बुहद् कला तथा साँस्कृतिक महोत्सव सम्पन्न गरेको रह्यो । महोत्सवमा नेपाली सहभागिता तर्फको संयोजन सामग्रीकार स्वयमको रह्यो । उक्त महोत्सवमा नेपालका छब्बीस चित्रकार र सात छविकार सहित वाङ्लादेशका तीस चित्रकार र मूर्तिकार तथा बीस छविकारहरू सम्मिलित रहे । आयोजनाले गण्डकी प्रदेशको एक सांस्कृतिक टोली समेत छ जना नेपाली ललितकर्मीहरूलाई सशरीर सहभागी गराएको रह्यो । यसका निमित्तको अठोट र चाँजो गर्नुहुने नेपाली दूतावास, महामहिम राजदूतज्यू, मैत्री समाज र पदाधिकारीहरू समेत प्रशंसेय तप्कामा देखापर्नु भएको छ ।

अन्त्यमा, प्रकाशन सीमाका कारण यसो त प्रस्तुत सामग्री खाका मात्र हुँदै हो । सानो स्थानमा सबै नअँटाएको हुन सक्दछ, आशा गरौं, छुट्न पुगेका कला–केन्द्र वा गतिविधिकर्ता सबै पक्षबाट आरम्भ भएको वर्ष २०८० मा थप उल्लेखनिय उचाई प्राप्त हुने छ र राष्ट्रको सौन्दर्यजन्य वैशिष्ठ्य र प्रज्ञान बृध्दिमा साख र गरिमा हासिल गरेको रहने छ । धन्यवाद ।

समाप्त
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *