
सुजल त्रिपाठी
नेपालगन्ज, ५ बैशाख – बाल बालिकाहरुलाई विभिन्न रोगबाट बचाउन तथा स्वास्थ राख्न नेपाल सरकारद्वारा सर्वसाधारण गरिबी बालबालिकाहरुको लागि निःशुल्क १३ प्रकारको खोप उपलब्ध गराउँदै आईरहेको छ ।
उक्त खोप विदेशी संस्था गा.वि.ले नेपाल सरकारलाई हालसम्म निःशुल्क उपलब्ध गराएपनि त्यसको प्रतिशतबाट सन्तुष्ट नभएपछि सामुदायिक स्तरमा अझ प्रभावकारी तवरले खोप लाग्ने गरी स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरी खोप लगाउनबाट छुटेका ५ वर्ष मुनिका बालबालिकाहरुलाई पहिचान गरी यही बैशाख ६ गते बुधबार पूर्ण खोप लगाउने कार्यक्रम रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको स्वास्थ्य चौकीद्वारा जानकारी गराईएको छ ।
वडा नं. ६ का सर्वसाधारणहरुलाई खोप लगाउन अभिप्रेरित गराउने उद्देश्यका साथ शहरी स्वास्थ्य केन्द्र ६ ले पूर्ण खोप दिगोपनाको लागि सरोकारवालाहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा उपमहानगरका स्वास्थ्य संयोजक जागेश्वरी बस्नेतले ६ नं. वडाका खोप नलगाएका ३२ जनाको पहिचान भईसकेको हुँदा उहाँहरुलाई पहिलो प्राथमिकता दिंदै बुधबार आयोजना हुने खोप कार्यक्रममा सहभागी गराउन स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिका साथै खोप लगाई सकेका अभिभावकहरुले समेत सकारात्मक पहल गर्नुपर्ने बताएका थिए ।
संयोजक बस्नेतले वडा नं. ६ का सम्पूर्ण बालबालिकाहरुलाई स्वास्थ्य राख्न तथा भविष्यमा रोगहरुबाट लड्न सक्षम बनाउन पूर्ण खोप कार्यक्रममा सहभागी भई अभिभावकहरुले आ–आफ्ना बच्चाहरुलाई खोप लगाउनु पर्ने बताउ“दै भन्नुभयो– ‘खोप लगाएका बच्चाहरुलाई अन्य रोगहरुले संक्रमण गर्ने खतरा कम मात्रामा रहेको हुँदा तथा संक्रमण गरेपनि छिटो सन्चो हुने भएकोले खोप लगाउन सुझाव दिनुभयो ।’
संयोजक बस्नेतले पूर्ण खोप लगाउन छुटेकाहरुको मात्र गलती नभएर हाम्रो समेत गलती भएको हुँदा अब आउने दिन कसरी वडा नं. ६ भित्र रहेका सम्पूर्ण बालबालिकाहरुलाई पूर्ण खोप लगाएर स्वास्थ्य लाभ दिलाउन सकिन्छ भन्नेतर्फ सबैको महत्वपूर्ण दायित्व भएको हुँदा बैशाख ६ गते बुधबारका दिन शहरी स्वास्थ्य केन्द्र ६ मा लगाईने खोपबाट लाभ लिनु हुन समेत बताएका थिए ।
शत प्रतिशत बालबालिकाहरुलाई पूर्ण खोप कार्यक्रममा सहभागी गराउन वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, कार्यपालिका सदस्य सञ्जु योगी, वडाका नागरिक समाज समेत सकारात्मक रुपमा ग्रहण गरी सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रमको सञ्चालन शहरी स्वास्थ्य केन्द्र ६ का प्रमुख नवराज न्यौपानेले गरेका थिए भने कार्यक्रममा चेतनामूलक सन्देश दिने खालको सहभागी सबलाई टि–सर्ट वितरण गरिएको थियो ।
