Monday, June 29सत्यम खबर
Shadow

मृत्तिका–कला कार्यशाला, ढाका

– नगेन्द्र प्र. पौड्याल
मितिः २०७९ साल चैत २७ गते, सोमबार (संस्मरण)
हामी होटल क्वालिटी ईन, गुल्सन २ बाट यन्त्रगाडी चढेर मीरपुर हिड्यौं । हामी लोक चित्रकार एस सी सुमन, मूर्तिकार–चित्रकार अनुराधा थापा, सामयिक कलाकार रामपुजन ठाकुर र होनहार पौभा चित्रकार उजय बज्राचार्य थियौं । मैले टोली भित्रका छविकार विकाश रौनियारलाई सम्झिएँ । यसो त विदा लिएरै उनी कलकत्ता तर्फ मोडिईसकेका थिए । सबै आआफ्ना विषयका स्थापित प्रतिभाहरू । अत्यन्त सन्तुलित समूह संयोजन । अरू पनि र स्थानिय थिए । यस आयोजनाको नायक सलाहुद्दिन कुटु, उनका मित्र महम्मद अमिनुर रहमान, सहयोगी रिङ्कु र गाडि चालक आदि ।
गाडीभरि चित्रकार सुमन के के हो गमिरहेका थिए । सुमन नेपालमा मुलतः मिथिला लोक चित्रकलाका नायक प्रतिभाका रूपमा चिनिन्छन् । केही वर्षयता सुमन लेखन तर्फपनि खिचिएका छन् । आजको सन्दर्भ भने अलि फरक थियो । यिनी सायद यहि गम्दै थिए कि आज के वा कस्तो मूर्ति बनाउने होला, आदि । अथवा, भर्खरै मात्र एउटा लेख प्रकाशित गरेका थिए, हुनसक्छ उनी कुन विषयमा लेख्ने गमिरहेका हुन् !
कमसेकम सडक हिजो अस्तिकै स्तरको अस्तव्यस्त र भिडभाड थिएन । यन्त्रगाडी अलिकति मोडियो र रोकियो । हामी गाडीबाट ओर्लियौं । मीरपुर ! वाङ्लादेशको राजधानी ढाका । अर्थात मीरपुर, ढाका, वाङ्लादेश !
एउटा कालो वर्णको फष्टाएको मोटरुो मानिस हाम्रो अगाडि देखापर्यो । फुलिसकेको र नकाटेको बाँधेको लामरुो कपाल ! कालोबाट पनि प्रकाशिलो उँज्यालो अनुहार र फिस्स बान्कीको सेतो मुस्कान । त्यस मानिसले हाम्रो सहृदय स्वागत गर्यो ।
परिचित मानिस हो, टोपु खाँन ! पूरा नाम तायेबुज्जमान टोपु खाँन । ढाकामा मृत्तिका–कलाका स्थापित र सुविख्यात मूर्तिकार । फुलिसकेको नकाटेको लामो तर पछाडिपट्टि समेटेर बाँधेको कपाल भएका उनै तायेबुज्जमान टोपु खाँनको ढाका, मीरपुर स्थित विख्यात ब्रण्ट क्ले स्टुडियो । केही अपरिचित मानिसहरू ।
सन् १५ मा ढाकामा नै भेटभएको हो मेरो टोपु खाँनसँग, जब म एउटा साँस्कृतिक आदान प्रदान कार्यक्रममा चित्रकारका स्थानमा सहभागी रहेको थिएँ । कार्यक्रम जरा फाउण्डेसन, नेपाल र रूट वाङ्लादेश, ढाकाको आयोजनामा रहेको थियो । मेरो एकल चित्रकार्य र एकल प्रदर्शनी थियो कार्यक्रममा ।
एउटी मझौलो कदकी युवती पनि उपस्थित थिईन् हाम्रा अगाडी यसबेला । युवती यस अर्थमा कि उनी विवाहित भएको मैले देखेको होईन । “सिन्दूर, पोते, चूरा, सारी र चोली” नदेखेपछि २५–२८ वर्षकी लाग्ने उनी मेरालागी युवती नै थिईन् । साँच्चै उनले पुतली जस्ति देखिने पहिरन पहिरिएकी थिईन् । मलाई यत्ति चाहीँ थाह थियो, हेर्दै उनी मूर्तिकार नै थिईन् । ताञ्जिला ।
ताञ्जिला समेत हामीलाई स्वागत गर्न तम्सिईन् । उपस्थित सबै अपरिचितहरू हाम्रो उपस्थितिले गदगदिए । दुईवटा कुकुरहरूले एकैसाथ भुके, मानौ हाम्रो सातो जान्थ्यो । सातो गएन, हामी सबैजना स्टूडियोको मूल बैठक कक्षतर्फ डोरिईयौं । जतासुकै छताछुल्ल मृत्तिका–कला ।
नेपाल र वाङ्लादेशका विभिन्न चित्रकार र मूर्तिकारहरू । वाङ्लादेश तर्फका गुलाम रसुल नयन, एम आर दिदार, कृष्ण दे चट्टोपाध्याय, एस एम मिजानुर रहमान, फरिसा महमुद् र ताञ्जिला सिद्दिकी । एक छविकार, एक सहयोगी रिङ्कू र एक मृत्तिकामय वातावरण ।
वाङ्लादेश र नेपालबीच दौत्य र कुटनैतिक सम्बन्धको पचासौं वर्षोत्सवका अवसरमा नेपालको दूतावास, ढाका र वाङ्लादेश–नेपाल मैत्री समाज, ढाकाले सन् ञ२३ को मार्च १४ देखि १८ सम्म ढाकामा गरेको कला र संस्कृति महोत्सवको सन्दर्भ हो यो । मृत्तिका–कला कार्यशाला ।
सानो छँदा चकचक र खसखसका रूपमा माटो खेलाएर चराचुरूङ्गी बनाएको याद छ । चित्रकला र कविता प्रति भने यस प्राँणीको प्रकृतिप्रदत्त लगाव थियो । स्कूलले मेरा चित्रलाई शुभकामना पत्रका रूपमा अन्यत्र पठाउँदथ्यो । १४–१५ वर्षकै उमेरमा यज्ञनिधि दाहालको मुखारबिन्दुबाट रेडियो मार्फत यस गँवारको कविता वाचन हुनु साच्चै नै उपल्लो उपलब्धि रहने गर्दथ्यो ।
कलेजमा नङ्ग–मासु मित्र अर्जुनप्रसाद श्रेष्ठ र गोपाल कलाप्रेमी मूर्तिकलाका लागि अब्बल विद्यार्थी थिए । गोपाल एक शैक्षिकसत्र मुन्तिर पर्थे । ईर्ष्या लाग्थ्यो, जतासुकैबाट पुरष्कारहरू कुम्ल्याउँदथिए । मूर्तिकलातर्फ भने यी दुबैको सङ्गतले पनि मलाई तान्न सकेको रहेन । म बरू सङ्गीतको विद्यार्थी रहें । स्वरतर्फ पूर्वीय शास्त्रीय सङ्गीतमा स्नातक गरें । तिनताका मैलेपनि केही उल्लेख्य प्रथम पुरस्कारहरू भने जितेको हो नै ।
जीवनमात्रकालागि सबैभन्दा उच्च साईनोमा आफ्नै आमा रहनु जैविक–सत्य हो । तथापि आमाले पनि सबैभन्दा उच्च साईनोमा माटोलाई राख्नु पर्दछ – यो भनेको श्रृष्टि–सत्य हो । वास्तवमा माटो सर्बोच्चको पनि सर्बोच्च हो, जब पृथ्वी, आकास, वायु, अग्नि र जलका बीचपनि हामी महत्ता पक्षिय तुलना गर्दछौं ।
यसो त म साख्खै किसानको छोरो । करेसा, बारी र खेत जे गर्दा पनि माटोसँग खेल्दै हुर्किएको मान्छे ! म आली र गरालाई खेलाउँदा खेलाउँदै असाध्यै लोभलाग्ने तुल्याँउँदथिएँ । गाउँभरी ईन्द्रको फूलबारीको नामले चिनिन्थ्यो मेरो फूलबारी । खण्डहरका रूपमा अहिले पनि भेट्न सकिन्छ । माटो । धरति माता ।
मैले समग्रमा नेपालको माटोलाई सौन्दर्यिकृत गर्न आफ्नो पुरै बाल्यजीवनलाई आहुत गरेको थिएँ । यो मृत्तिका–कला नै होईन र, जहाँ कुनै न कुनै प्रयोजनार्थ माटोलाई सौन्दर्यीकृत गरिन्छ ! मैले पक्कै आफ्नो शिल्पिले भ्याएसम्म माटोलाई सुन्दर रूप दिने प्रयोग त्यस अर्थमा गरें । बारी, बगैँचा, खेत, खोला, ओडार । यता भने अहँ, अहिले, अस्तिमात्र सम्म पनि मूर्ति नै बनाउँछु भनेर मैले कहिल्यै पहल लिईन । निर्णय र व्यवहार अपनाईन । धत्तेरिका !
माटोमा वा माटोसँग खेल्नु वा माटोलाई माया गर्नु, तथ्यतः यहीँबाट अघि बढ्छ माटोको कला, मृत्तिका–कला । यो कमसेकम मैले पढेको छु । माटोको स्याहार–सुसार, सजावट, यसैबाट सादृष्यमा आउँछ कलात्मक अनुभूति !! यो समेत कमसेकम मैले पढेको छु । विभिन्न नाम दिन सक्छौं, र, हामी भन्ने पनि गर्छौं – आली, गरा, चूल्हो, भकारी, भाँडरुो आदि ।
ताञ्जिलाले मलाई उक्साईन् – “सबैले बनाउँदा तँ पनि बना न ।” उनले अंग्रेजी भाषा प्रयोग गरीन् । यू भनी र मैले तिमी वा तपाईं अर्थ लगाईन, तँ अर्थ लगाएँ । मानौं ताञ्जिला ख्वान्नियौंपा हुन् । अथवा उनी मानौं साकम्बरी हुन् ।
यद्यपि ताञ्जिला सून्यवादी भने पक्कै देखिन्नन् । ख्वान्नियौंपा हो वा साकम्बरीहरू भन्दा विपरित । चूल्बुले, आशावादी र सकृय । म विचार गर्दै थिएँ, उनमा माटो प्रतिको अगाध तपस्या छ । उनले मलाई छेउमा बोलाईन् । म मानौं चीट चोर्न उनका तर्फ लहसिएँ ।
अनवरत चित्र, कविता र चित्र–मूर्तिजन्य समालोचन सहितको सिर्जनात्मकतामा सबथोक बितिरहेको मेरालागि वाङ्लादेश यस मानेमा मूर्ति सिर्जनाको कोषेढुङ्गा बन्न पुग्यो ।
यसो त अघिल्ला केहिदिन यता सुमन र मेरा बीचमा कार्यक्रममा निर्धारित मृत्तिका–कला कार्यशालाका विषयमा पटक पटक भलाकुसारी भएको हो । प्रत्यक्षतः माटो हाम्रो नीजि प्रातिभका लागिको रचनाको माध्यम नरहेको बारे पनि भलाकुसारी भएको हो । भएतापनि सहभागिताले खास महत्व लिने निर्क्यौल चाहिँ पनि बनेको हो ।
अत्यन्तै खुसीको क्षण थियो त्यो जब साँचोतः उनै ताञ्जिलाको उक्साहटमा यो उमेरमा र यो नियात्रा लेख्दाका नेपाली हातले पहिलो पटक वाङ्लादेशको माटो समाए ! जीवनमा प्रथमपटक सचेततः मैले मूर्ति निर्माण गर्ने निर्णय लिएँ ।
मेरो दृढता बुझ्नासाथ खाईलाग्दा टोपु खाँनजी खुसी भए । मेरा हातमा माटो देख्ना साथ सुमन, अनुराधा, रामपुजन र उजय सबै खुसी भए । यो एउटा अविष्मरणीय उत्तेजनाका रूपको क्षण रह्यो । टोपु खाँन म तर्फ बढे । मानौ उनी पनि मलाई उक्साउन उद्यत थिए । सुमन चस्माको माथिल्लो अंशबाट मेरो हातमा रहेको माटोको पिण्डलाई आँक्दै थिए ।
ताञ्जिला छुनमुनाउँदै मेरो छेउमा ढेप्पिन पुगीन् । गमक्क परी र फिस्स हाँसिन् । छेवैको कुकुर, मानौ उ पनि अबचाहीँ खुसी भयो । पुच्छर हल्लायो । मैले कुकुरका तर्फ ऐक्यबध्दता तेर्स्यांएँ । त्यो त बाँधिएको पो रहेछ । स्वतन्त्र बन्ने याचना होला सायद । म फुसफुसाएँ ।
अब मैले वाङ्लादेशको माटोलाई समेत सौन्दर्यिकृत गरें; मूर्तिकृत गरें । सुमन, ताञ्जिला र अरूहरूसँगै । त्यहाँ मैले आली, गरा र भकारी गरिन । मैले चनालाई माटोसँग जोडें; अथवा माटोलाई चनासँग जोडें जहाँबाट चना–बनस्पतिको सुरूआत हुन्छ । मैले ञआफूखुसी आकारमा वा सबैतिरबाट कुँद्न, थप्न, झिक्न र देख्न मिल्नेझ “राउण्ड“ मूर्तिकला विधि अपनाउँदै खस्रो वयन दिने शिल्पि अभ्यास गरें । र, मूर्तिको शीरमा खगोलको प्रतीकका लागि माटोकै एउटा गोलाकार राखिदिएँ ।
सहभागी एस सी सुमनले ञसमतलिय ठोस वस्तुमा अगाडिबाट मात्र कुँद्ने, झिक्ने, थप्ने र देख्न मिल्नेझ “रिलिफ” मूर्तिकला विधि अपनाए । उनले लगभग १२“ गुणन १२“ साईजमा मिथिला लोकजीवनको मूर्तिकरण गरे । अनुराधाले समेत सोही नापको “रिलिफ“ मूर्तिकला विधि अपनाईन् । सुमन र अनुराधा दुबैका “रिलिफ“ हरूमा मानव आकृतिलाई तिनको दैनिकीलाई सम्बन्धित गराएर मूर्तिकरण गरिएको रह्यो ।
रामपुजन र उजयले पनि मूर्तिकरणको सोही “रिलिफ“ विधि अपनाए । रामपुजनले नेपाल र वाङ्लादेशका झण्डा र राष्ट्रिय फूलहरूलाई विषयवस्तुका रूपमा लिएका थिए । उजयले कमलको फूललाई आफ्नो विषय गराए, जो पौभा चित्र–दर्शनमा आधारभूत विषय–प्रतीकका रूपमा देखापर्दछ ।
वाङ्लादेशका सहभागीहरूले पनि आआफ्नो सुविधा अनुसार “राउण्ड” र “रिलिफ” दुबै प्रकारका मूर्ति सिर्जना गरे । वाङ्लादेशकी फरिसाले कमलको फूललाई लिएर “रिलिफ” मूर्ति बनाईन् । गुलाम रसुल, एम आर, कृष्ण दे, एस एम मिजानुरहरू मध्ये “राउण्ड“ र “रिलिफ“ दुबै प्रकारका मूर्तिहरू सिर्जना गर्ने पनि रहे ।
एस सी सुमन अलि जिज्ञासु र चतूर प्रातिभका श्रष्ठा । उनलाई आफ्नो मूर्तिमा चाँहिदो बान्की र कलात्मकताको आतुरी सुहाएको पनि । निक्कै एकाग्रता र मिहेनतले मग्न थिए । एस सी सुमन थप उत्साहित बनेर भन्दै थिए – मैले प्रिण्ट मेकिङ्ग समेतका कतिपय माध्यममा काम गरिसकें । कतिपय फरक माध्यमका कार्यशालाहरूमा सहभागी भईसकें । यो एउटा उच्च उत्प्रेरणाको कोषेढुङ्गा कार्यशाला बन्नेछ ।
बेलुकी वाङ्लादेश शिल्पकला एकेडेमीमा हुने समग्र कला र सांस्कृतिक महोत्सवको समापनमा सरिक हुनपर्ने थियो । टोपु खाँनले हामीलाई दिउसोको खानाकोलागी निम्ता गरे । खानाको समय केही ढिलो, लगभग २.३० बजे पुगिसकेको थियो ।
हात धोयौं । हामी सबै टोपु खाँनको निम्ता मान्न अर्को तल्ला तर्फ उचालियौं । सबैभन्दा सानी थिईन्; त्यसैले पनि ममा ताञ्जिला प्रति चासो रह्यो । आँखाले वरिपरी चाहारे – उनी हराएकी रहिन छिन् । सँगै सिढी उक्लिदै रहिछन् ।
वाङ्लादेश र नेपालको दौत्य र कुटनैतिक सम्बन्ध स्थापनाको पचासौं वर्षोत्सवका हैसियतको महोत्सवको मृत्तिका–कला कार्यशालामा यिन दुई राष्ट्रका बीचको माटोलाई मैले समेत भावनात्मकता सँग जोड्ने अवसर पाएँ । सिर्जनात्मक उर्वरासँग जोड्ने अवसर पाएँ ।
यो एउटा फरक अनुभव थियो । यहि भएर पनि जीवनको यो उत्कृष्ट र प्रभावोत्पादक उत्प्रेरणा रह्यो । मैले यो फरक अनुभवका लागि छविकार विकाश रौनियार छुटेकोमा केहि नपुगेको अनुभूति गरें ।
मनमनै नेपाली दूतावास वाङ्लादेश, महामहिम राजदूतज्यू, वाङ्लादेश–नेपाल मैत्री समाज, समाजका अध्यक्ष, महासचिव सलाहुद्दिन कुटु, ब्रण्ट क्ले स्टुडियो र टोपु खाँन समेत सम्पूर्ण मित्रहरूप्रति आभार व्यक्त गरें । ब्रण्ट क्ले स्टुडियोबाट शिल्पकला एकेडेमीसम्मको अबको यात्रा एउटा सलाहुद्दिन कुटुको अगुवाईमा टुङ्गो लाग्यो । र, एउटा मूर्तिकार उनै युवती ताञ्जिलाको अगुवाईमा जिम्मा लाग्यो । उनैका मातहत हामी वाङ्लादेश शिल्पकला एकेडेमी तर्फ आदेशिदै गुडाईयौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *