Sunday, May 3सत्यम खबर
Shadow

उपमहानगरद्वारा इ–रिक्सा दर्ताका लागि अन्तिम समय

नेपालगन्ज, २६ चैत – नेपालगन्ज उपमहानगरपालिकाले इ–रिक्सा दर्ताका लागि १५ दिनको समय दिने भएको छ । उपमहानगरपालिकाले नगरभित्र सञ्चालन भइरहेका इ–रिक्साहरुको अभिलेखीकरण र व्यवस्थापनका लागि अब अन्तिमपटक १५ दिनको समयसीमा तोकेर दर्ता गर्नका लागि आह्वान गर्ने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज सरोकारवालाहरुबीच जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट इ–रिक्साहरुलाई दर्ता प्रक्रियामा ल्याई प्रभावकारी नियमन गर्ने निर्णय भएको हो ।
इ–रिक्साहरुको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्ट्याउने लगायतका विषयमा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताउनुभयो । नगरपालिकाबाट उपमहानगरपालिकामा स्तरोन्नति हुँदा जोडिएका साविकका गाविसमा यसअघि दर्ता भएका इ–रिक्सालाई पनि पुनः दर्ता गर्ने तर अन्य पालिकामा दर्ता भएकालाई भने सूचीकृत नगरिने भएको छ । “नेपालगन्जमा आवश्यकता भन्दा बढी इ–रिक्सा भइसके, यति धेरै रिक्सा नगरले थेग्न सक्ने अवस्था छैन, अहिले सञ्चालनमा रहेका रिक्साहरुलाई नियमन र व्यवस्थापन गर्न दर्ता अनिवार्य छ, नगर प्रमुख प्रशान्त विष्टले भन्नुभयो–“दर्ता प्रक्रियापछि पार्किङ, रुट अनुमति लगायतका विषयमा हामी योजनाबद्ध तरिकाले अघि बढ्छौं । इ–रिक्सा दर्ता स्थानीय तहमै हुने भएकाले नियमन र व्यवस्थापनमा अब निर्मल ढंगले अघि बढ्ने नगर प्रमुख विष्टको भनाई छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख विरबहादुर थापाले हालसम्म १९ सय इ–रिक्सा मात्र दर्ता भएको बताउनुभयो । दर्ताका लागि पटक पटक सार्वजनिक आह्वान गरेपनि ठूलो संख्याका रिक्साहरु दर्ता बिनै चलिरहेका छन् । नगरमा १२–१३ हजार रिक्सा सञ्चालनमा रहेको अनुमान छ । निजी प्रयोजनका लागि भनेर किनिएका रिक्सा पनि सार्वजनिक साधनका रुपमा प्रयोग गर्दा बेथिति अझ बढेको भन्दै सरोकारवालाहरुले प्रभावकारी नियमन र व्यवस्थापनमा जोड दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले केही दिन यता इ–रिक्सा प्रालिहरुले टिकटमा जथाभावी गरिरहेको, बढी भाडा लिइरहेको, जमुनाहा क्षेत्रको पार्किङ क्षेत्रलाई व्यवस्थित बनाउन नसके गुनासो आइरहेको भन्दै कुनै एक जना व्यक्तिले पनि गुनासो गर्ने ठाउँ नराख्ने गरी काम गर्न इ–रिक्सा प्रालिका प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । इ–रिक्सा प्रालिका प्रतिनिधिहरुले आफूहरुले व्यवस्थित गर्ने हिसाबले नै काम गरिरहेको जिकिर गर्दै नियम विपरीत काम गरेमा कारवाही भोग्न तयार रहेको बताएका छन् ।
छलफलमा यातायात व्यवस्था कार्यालयका प्रमुख लोकबहादुर सुनार, बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौर, ट्राफिक प्रहरी प्रमुख तिलक सुनार, वडा प्रहरी प्रमुख इन्द्रजित सुनार, नेपालगन्ज नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी, नगरमा क्रियाशील चार वटा इ–रिक्सा प्रालिका प्रतिनिधि लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *