काठमाण्डौ, १८ फागुन – ओझेलमा रहेका पयर्पटकीय थलो पहिल्याउन विविल राईज फाउण्डेसनले पर्यटन प्रवद्र्धक (ट्राभल भल्गर) हरुसँग अन्तरक्रिया गर्ने भएको छ । पछिल्लो समय देशका विभिन्न कुना कन्दरा भ्रमण गरी ट्राभल भल्ग बनाउने आन्तरिक पर्यटकहरुको संख्या बढिरहेको छ । यस्ता पर्यटकहरुबाटै ओझेलमा परेका पर्यटकीय थलोहरु चिन्न चिनाउन सकिने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताए । अन्तरक्रिया कार्यक्रम आगामी आइतबार दिउँसो एक बजे गोगंबुस्थित फाउण्डेसन कै कार्यालयमा हुनेछ । घुमफिरमा र प्रवद्र्धनात्मक भिडियो बनाउन रुचि राख्ने जो कोही कार्यक्रममा सहभागी हुन सक्ने छन् ।![]()
फाउण्डेसनले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कला संस्कृतिलगायतका विषय वस्तुमा केन्द्रित रही राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’को आयोजना गर्दै आएको छ ।
फाउण्डेसनले सन् २०२३ को प्रतियोगितामा सहभागिता जनाउन आगामी वर्ष वैशाख २१ गतेसम्म भिडियो पठाउन आह्वान गरेको छ । भिडियो अधिकतम ५ मिनेटको हुनु पर्नेछ । प्राप्त भिडियोहरू मध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगद सहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ । विजेता प्रतियोगीहरूको घोषणा १३ जेष्ठ २०८० कादिन काठमाडौँमा हुनेछ । सन् २०१९ मा पहिलो पटक आयोजित प्रतियोगितामा देशभरबाट उत्साहजनक १ सय ३२ वृत्तचित्र सहभागी थिए ।
प्रतियोगितामा सहभागिता जनाउन चाहनेले फाउण्डेसनको वेबसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमार्फत विस्तृत जानकारी लिन सक्ने छन् । प्रतियोगितामा सहभागिता जनाउन कुनै किसिमको शुल्क लाग्ने छैन ।
