
नेपालगन्ज, २८ मंसिर – सकारात्मक साेंच भए जे पनि गर्न सकिन्छ भन्ने उदाहरणको प्रस्तुति हाल साहु समाज बाँकेले देखाउँदै आईरहेको छ ।
केही समय अगाडी मात्र लुम्बिन प्रदेश वन मन्त्री सुरेन्द्र हमालमार्फत साहु समाजको शौचालय लगायत निर्माणका लागि १० लाख बजेट प्राप्त गरी निर्माण कार्य सम्पन्न गरेको समाजले प्रदेश सरकारको थप ४० लाख बजेटबाट धर्मशाला निर्माणका लागि आज बुधबार शिलान्यास कार्य सम्पन्न गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने असहाय, गरीब, आर्थिक अवस्था कमजोर भएका परिवारहरुका लागि विशेष योजनाका साथ निर्माण हुन लागेको धर्मशालाबाट सम्पूर्णले फाइदा लिन सक्ने साहु समाजका अध्यक्ष हंसराम साहुले बताउनुभयो ।
समाजमा धेरै बोलेर भाषण गर्नुभन्दा केही सकारात्मक पहल गरी गरीबहरुको भलो हुने काम गर्नु तथा सोही काम अनुसार साहु समाजले निर्माण गर्न लागेको धर्मशालाले स्थानीयहरुलाई आउने दिनमा विवाह, व्रतबन्ध, पुजा आदिका लागि सहज वातावरण श्रृजना गर्ने प्रमुख अतिथि तथा समाजसेवी माधवराम वर्माले बताउनुभयो ।
प्रदेश सरकारको ४० लाख बजेटबाट निर्माण हुन लागेको धर्मशाला भुईतलामा विवाह मण्डव आदि निर्माण हुने छ भने माथिल्लो (दोस्रो) तल्लामा कोठासहित हल निर्माण हुने प्रदेश शहरी विकास कार्यालय प्रमुख राम आसरे शाहले बताउनुभयो ।
धर्मशाला शिलान्यास कार्यक्रममा सहभागिहरुलाई हर्षका साथ स्वागत साहु समाज बाँकेका सचिव प्रदीप शाह तथा साहु समाज युवा संघका अध्यक्ष रामकिसुन साहुले खादा लगाएर गरेका थिए ।
शिलान्यास कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ का वडाअध्यक्ष राजकुमार साहु, बाबुराम साहु, मोती साहु, तुलसी साहु, पिन्टु साहु, बृजलाल साहु, सीताराम साहु, बिमल साहु लगायत साहु समाज बाँकेमा आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।
