नेपालगन्ज, १० मंसिर – धार्मिक आस्थावानहरुको पक्षमा वकालत गर्दै आईरहेको नेपाल शिवसेना बाँकेमा हाल देखिएको कलहले चरम रुप धारण गरेको छ ।
विगत चुनाव अगावैदेखि झिनोमसिना देखिएको तनाव हाल छताछुल्ल भएको पाईन्छ । विगतमा बिना स्पष्टीकरण निलम्वन गरिएका जिल्ला अध्यक्ष मदनराज शर्मा र त्यस लगत्तै सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ पछि राजीनामाको तगारो नै देखिएको छ ।
नेपाल शिवसेनाका जिल्ला अध्यक्ष शर्मापछि कावा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आईरहेका शुभम गुप्ता, जिल्ला कोषाध्यक्ष विनोद लोध, वरिष्ठ सल्लाहकार चिन्तामणि पोखरेललगायतले समेत संयुक्त रुपमा राजीनामा सार्वजनिक गरिसकेका छन् । केही दिन अगाडी मात्र जानकारीमा आए अनुसार उहाँहरुले सार्वजनिक सञ्जाल फेसबुकको प्रयोग गर्दै राजीनामा दिएका छन् ।
वर्तमान कावाअध्यक्ष गुप्ताका अनुसार केही दिन अगाडी सम्पन्न निर्वाचन पश्चात नेपाल शिवसेनाले समर्थन गरेको स्वतन्त्र उम्मेदवारहरुको पराजय हुनु, संगठन भित्र गुट उपगुट हुनुलगायत विषयले गर्दा आफूले नैतिकताको आधारमा राजीनामा गरेको बताउनुभयो ।
हालको अवस्था हेर्दा अन्य नेपाल शिवसेनाका पदाधिकारीहरुले समेत राजीनामा दिन सक्ने अवस्था रहेको स्रोतको दाबी रहेको छ ।