Thursday, January 15सत्यम खबर
Shadow

अबिरल वर्षाले जनजीवन अस्तव्यस्त, नेताहरु चुनावी एजेण्डा तय गर्न मस्त

नेपालगन्ज, २१ असोज – तीन दिनदेखी अविरल परेको पानीले बबई नदीमा आएको बाढीले हुलाकी सडक अन्तर्गत गुलसरया–नेपालगन्जको विभिन्न स्थान खजुरा, इन्द्रपुर, उढरापुर, मानपुर लगायतमा बाढी पसेर सडक मात्र डुबान नभई आम सर्वसाधारणहरुको घर भित्र समेत पानी पसेर आवतजावत गर्न कठिनाइ भईरहेको छ । पूर्वबाट पश्चमि आवतजावत गर्ने सबै साना ठूला सवारीसाधन र मानिसलाई रोक लगाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी गराउनुभयो ।

गुलरयिा नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पस्नेक्रम जारी रहेको स्रोतद्वारा जनाईएको छ । बबईमा आएको बाढीले इन्द्रपुर, टडुवा आसपासका गाउँ डुबानमा परेका छन् ।

यता बाँकेको राप्ती नदीमा आएको बाढीले बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गराई दिएको छ । लगातार भईरहेको अबिरल वर्षाका कारण डुबानमा परेका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको चौफेरीका स्थानीयद्वारा जनाईएको छ ।
तीन दिनदेखि भइरहेको अबिरल वर्षाले राप्ती नदीमा आएको बाढीले पूरै गाउँ डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि आश्रयस्थलमा सारिएको जिल्ला विपद कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले जनाएका छन् ।

सूचना अधिकृत ज्ञवालीका अनुसार बाढीले गाउँ नै डुबानमा परेपछि रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीलाई उद्धार गरी आश्रयस्थलमा राखेको हो । अधिकृत ज्ञवालीले भने, ‘चौफेरी गाउँका दर्जनौँ घरमा पूर्ण क्षति भएको प्रारम्भिक जानकारी रहेको छ, अझै पनि वर्षा रोकिएको छैन, बाढी घटेपछि मात्रै क्षतिको विवरण सङ्कलन गर्न सकिन्छ, अहिले पहिलो प्राथमिकता भनेको मानिसलाई सुरक्षित राख्ने हो ।’
राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दीलगायतको गाउँ बाढीले डुबानमा परेका छन् ।
सोही अबिरल वर्षाले गर्दा नेपालगन्ज उपमहानगरपालिका पुरै डुबानमा परेको छ भन्दा उपयुक्त होला किन भने नेपालगन्ज उपमहानगरपालिका भित्र बनाईएका ढलले पानीको निकास पूर्ण रुपमा नगरेको अवस्था रहेकोले घरवारी टोल, बागेश्वरी टोल, सेतुविक चोक छेउछाउ, गणेशपुर, बसपार्क, एमपिस्कुल मार्ग, बाँकेगाउँ, रामनगर, फुल्टेक्राको विभिन्न टोल पूर्ण रुपमा घरभित्र पानी पसेर डुबान अवस्थामा रहेको पाईन्छ ।
फुल्टेक्रामा रहेको हडियाबाबा आश्रम छेउछाउमा लगातारको वर्षाले पूर्ण रुपमा क्षतिग्रास्त बनाएको छ । घर भित्र पानी पसेको हुँदा खान, बस्न समेत समस्या भईरहेको फुल्टेक्राका स्थानीयहरुको भनाई रहेको छ ।
यता नेपालगन्ज, कोहलपुर, खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा भित्रि भागमा मात्र नभई मेन रोडमा समेत पानी जमेको पाईन्छ ।
विहिबार मुर्ति बिर्सजनका बेला विभिन्न राजनीतिक दलका मन्त्रीदेखि स्वतन्त्र नेताहरु समेत पुगेर चुनावी एजेण्डा तय गरिरहेका थिए भने आज शुक्रबार पीडित परिवार कहाँ कोही पुगेका छैनन् । स्थानीय वडा स्तरका जनप्रतिनिधि समेत कानमा तेल हाली बसेका छन् । यस्तो अवस्थामा आम वडाबासीहरु, उपमहानगरबासी कहाँ र कसलाई गुहार लगाउने भन्ने प्रश्न समेत उठाई रहेका छन् ।

यता उपमहानगरपालिका भित्र रहेको वडा नं. २० मनिकापुरमा समेत घरभित्र पानी पसेको जानकारी प्राप्त भएको छ । स्थानिय सन्ध्या शर्माले आफ्नो फेसबुकमा राँझा–मनिकापुरको केही तस्वीर पोस्ट गर्दै पीडालाई पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *