
नेपालगन्ज, २२ जेष्ठ – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगन्जमा वीरेन्द्र शाहको शालिक पुर्नस्थापना गर्ने क्रममा रोक्न खोजिएकोमा दुःख व्यक्त गरेका छन् । बिहिबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगन्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले रोकेका थियो ।

प्रहरीले रोक्न खोज्दा झडप समेत भयो । सालिक स्थापनाको विषयमा भएको सो घटनालाई लिएर पूर्वराजा शाहले आफू स्तव्ध भएको बताएका छन् । पूर्वराजा शाहका सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा ईतिहास उसै नमेटिने र ऐतिहासिक व्यक्तिहरुद्धारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै नमर्ने कुरा सबैले बुझ्नुपर्ने बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ – ‘नेपालगन्जवासी जनताको तर्फबाट बाँके जिल्लाको नेपालगन्जस्थित वीरेन्द्रचोकमा स्वतःस्र्फूत सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यप्रति अवरोध पुरयाईएको घटनाबाट हामी स्तव्ध भएका छौं’ ।
‘नेपालको गौरवमय ईतिहासमा हाम्रा प्यारा आदरणीय दाजु वीरेन्द्रको गहनतम योगदान रहेको सर्वविदित नै छ । राष्ट्रिय जनमत संग्रह, युगानुकुलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रिय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् ।’
