
नेपालगन्ज, १५ जेष्ठ – समयमा गलती सुधार गरे सबथोक मिल्छ भन्ने उदाहरण समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रस्तुत गरेको छ ।
केही दिनदेखि लगातार बैंकमाथि लाग्दै आएको आरोपलाई सुधार गरी समानता सहकारीका शेयर सदस्यदेखि कर्मचारी समेत अगाडी आई भए गरेका गलती सुधार गरी सम्बन्धित खाताधारी सन्ध्या शर्मालगायतलाई भुक्तानी दिने भएका छन् ।

दुई दिनको निरन्तर प्रयासपछि पीडित खाताधारी सन्ध्या शर्माले न्याय पाउने भएका छन् । आज आईतबार स्वास्तिक कटेजमा सम्बन्धित पीडित पक्ष र पीडक पक्षबीच छलफल पश्चात निवेदन दिने खाताधारी सन्ध्या शर्माका पूर्व पति प्रशान्त चौबेले भने ‘अन्जान बस मबाट गलती भएको हो, मैले समानता सहकारीमा निवेदन प्रस्तुत गर्दा श्रीमति उल्लेख नगर्नु पर्ने, म बाहेक अन्य खाताधारीहरुको पैसा ननिकाल्नु पर्ने भएको हुँदा अब उ्रप्रान्त मबाट कहिले त्यस्तो गलती नहुने भन्दै पूर्व श्रीमति सन्ध्या शर्माबाट क्षमायाचना गरेका छन् ।’
उक्त क्षमायाचना पश्चात समानता सहकारीका शेयर होल्डर आशिष आनन्दले समेत सहकारीबाट केही त्रुटी भएको हुँदा उक्त त्रुटीलाई छलफलको माध्यमबाट समाधान गर्न हामी सफल भएको तथा खाताधारी सन्ध्या शर्मालगायत उनका छोरीहरुले पाउनु पर्ने सम्पूर्ण रकम सहकारी नियमानुसार भुक्तानी पाउने बताउनुभयो ।
यसैगरी समानता सहकारीका शाखा मैनेजर धिरजकुमार दासले समेत आफूबाट भएको गलती अब उप्रान्त नहुनुका साथै आउने दिनमा हाम्रो सहकारीका लागि सकारात्मक दिशानिर्देश गर्ने भएको हुँदा सो सुधार गरी लैजानुका साथै खाताधारी सन्ध्या शर्मा र उनका छोरीहरुले सबै हिसाब मिलान गरी पाउनु पर्ने रु. ३२ हजार १ सय ६० कुनै पनि समयमा समानता सहकारी अफिस गई लिन सक्ने बताउनुभयो ।
दुबै पक्षलाई मिलाउन सकारात्मक भूमिका निर्वाह गर्ने पत्रकार प्रज्जवल श्रेष्ठले समेत दुबै पक्ष अब मिलेको हुँदा आउने दिनमा कुनै विवाद नरहेको तथा सम्बन्धित पूर्वपति प्रशान्त चौबे र खाताधारी सन्ध्या शर्मा बीच कुरा मिलेको बताउनुभयो ।
यस बारे पीडित खाताधारी सन्ध्या शर्माले भन्नुभयो– ‘पैसाभन्दा सम्मान ठूलो कुरा भएको हुँदा पूर्व श्रीमानबाट भएको गलती स्वीकार गरी क्षमायाचना मागिसकेको हुँदा कुनै पनि कानुनी प्रक्रियामा नजाने तथा १–२ दिन भित्र समानता सहकारी अफिस पुगेर जम्मा गरेको सम्पूर्ण हरहिसाब मिलान गरी भुक्तानी लिने बताउनुभयो ।
