
नेपालगन्ज, २३ बैशाख – नेपालगन्ज–१ का फातिमा खातुनलाई अबको स्थानिय चुनावबाट युवाहरुको मुद्दालाई दह्रो रुपमा उठाउने नेताले जिते हुन्थ्यो भन्ने चाहाना छ । युवाहरुमा बढ्दो बेरोजगारि सँगै सक्षम र शिक्षित युवाहरु समेत नेपालगन्जमा आफ्नो भविष्य नदेखेर विदेश नै पलायन हुनुपर्ने अवस्थाको अन्त्यका लागि युवाहरुको समस्या बुझेको नेताले जित्नु अहिलेको अपरिहार्य आवश्यकता हो भन्छिन् उनी ।
फातिमा आफै पनि एक उद्यमी हुन् । उनी उद्यम गर्न चाहाने युवाहरुको समस्या स्थानीय सरकारले नबुझिदिंदा आईपर्ने समस्याका बारेमा जानकार छिन् । यसकारण पनि नगरका युवाहरुलाई उद्यमशिलतामा जोड्ने नेताको आवश्यकता रहेको उनी बताउँछिन् ।

नेपालगन्ज कै लक्ष्मी पंगाली पनि युवाहरुलाई दिशा निर्देश गर्न सक्ने भिजन र मिशन भएको नेताले जिते मात्रै नेपालगन्जको मुहार फेर्न सकिने बताउँछिन् ।
‘नेपालगन्ज उप–महानगरपालिका बाँके जिल्लाको मात्रै नभई कर्णाली र सुदुरपश्चिम प्रदेशको केन्द्र पनि हो । राजनितिक, आर्थिक, औधोगिक र शैक्षिक सबै तबरले करिब २४ जिल्लाको केन्द विन्दु हो । यहाँको हरेक मुभमेन्टले उनीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले प्रभाव गरिरहेको हुन्छ । यसकारणले पनि दुरदर्शि भिजन भएको नेता आउनु आजको आवश्यकता हो’–लक्ष्मी भन्छिन् । ‘अबको विकास भनेको युवाहरुको सहभागिना बिना सम्भव छैन । यसकारण पनि हामिहरु जस्ता युवाहरुका मुद्दा समेत समेटेर अघि बढ्ने नेता चाहिएको छ ।’
गगनगञ्जका समिर पनि ‘नेपालगन्जको एैतिहासिक महत्व बुझेको र विकासमा युवा सहभागिताको महत्व बुझेको नेता आउन सके मात्रै यस नगरको विकास हुन्छ’– भन्छन् ।
यता नेकपा एमालेबाट नेपालगन्जका मेयर र उप–मेयरका प्रत्यासी पशुपतिदयाल मिश्र र शान्ति ढकाल युवाहरुका मुद्दालाई अघि सार्दै भोट माग्न घरदैलो गरिरहेका छन् ।
मेयरका प्रत्यासी मिश्र भन्छन्– ‘हामीले घरदैलो गर्दा भेटेका युवाहरुमा पनि कसैले हाम्रो मुद्दा उठाएनन् भन्ने चर्को असन्तुष्टि पायौं । तर, हामिले उनिहरुलाई भनेका छौ की, हामीले युवाहरुलाई साथैमा लिएर समृद्व नगर विकासको परिकल्पना गरेका छौं । हामिले हाम्रो प्रतिबद्धता पनि वहाँहरुलाई देखाएका छौं ।’
‘युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था, अन्य पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन, रोजगारीको अवसर सिर्जना गर्न लगानी–मैत्री वातावरणको सिर्जना, स्र्टाट अप कल्चरलाई प्रोत्साहन लगायत स्थानीय युवा हरुलाई स्मार्ट सिटीका लागि चाहिने साफ्टवेयर, ईन्टरनेट अफ थिंग्स लगायतका सामाग्रीको निर्माणलाई प्रोत्साहित गरिने लगायतका अन्य थुप्रै कुरा हामिले समेटेका छौं,’– मिश्रले भने ।
त्यतिमात्र नभई नयाँ ब्यापार व्यवसाय सुरु गर्न चाहने युवाहरुलाई बिजनेश आइडिया सम्बन्धी सुरुवाती पुँजीको व्यवस्थाका लागि बैंक तथा अन्य वित्तिय संस्थासँग समन्वय गरिने, छुवाछूत, छाउपडी, दाइजो, जातीय तथा लैङ्गिक भेदभाव, अन्धविश्वास, कुसंस्कार जस्ता सामाजिक कुरीति हटाउँदै समाजको रूपान्तरणमा युवाहरूको भूमिका बढाइने तथा युवाहरूको राजनीतिक संलग्नता र नेतृत्व क्षमता विकास गर्दै सामाजिक, आर्थिक र राजनीतिक माध्यमबाट स्थानीय विकास निर्माणमा युवा परिचालनलाई प्रोत्साहन गरिने उप–मेयरका प्रत्यासी ढकालले जानकारी दिईन् ।
उनले भनिन्,– ‘विपद्, महामारी, विकास निर्माण कार्य, सरसफाइ तथा वातावरण संरक्षण र सामाजिक चेतना अभिवृद्धिमा समेत युवाहरुलाई स्वयं सेवकको रुपमा परिचालन गर्नेछौं यसले उनीहरुलाई सामाजिक र राजनितिक दायित्ववोध हुनुका साथै उनीहरु विकासका काममा अग्रसर हुने छन् ।’
मेयर र उप–मेयरका प्रत्यासी मिश्र र ढकाल जिते हरेक क्षेत्रमा सफल र समृद्ध नेपालगन्जको नयाँ परिचय निर्माण गर्ने दावि समेत गर्दै आएका छन् ।
