
नेपालगन्ज, १९ बैशाख – नेपालगन्ज उपमहानगरपालिका भित्र स्वतन्त्र उम्मेदवार दिनेश थापाले आज सोमबार एक कार्यक्रमका बीच आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
मेयर पदका उम्मेदवारद्वारा जारी प्रतिबद्धतामा सामुदायिक विद्यालय तथा मरदसाको पूर्वआधार स्तर उन्नति गरि शैक्षिक गुणस्तर बृद्धिको लागि विभिन्न कार्यक्रम संचालन, संस्कृत विद्यालय स्थापनाको लागि छुट्टै पहल, मदरसा शिक्षाको गुणस्तरमा सुधार ल्याउनुका साथै अन्य सामुदायिक विद्यालय सरह सुविधा प्रदान लगायत रहेका छन् ।

यसैगरी स्वास्थ्यतर्फ प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा स्वास्थ्य परिक्षणको लागि प्रयोगशालाको व्यवस्था, नेपाल सरकारद्वारा प्रदान गरिने स्वास्थ्य बिमाको कार्यक्रम प्रभावकारी ढंगले गर्नु गर्न प्रत्येक घरमा स्वयंसेवक परिचालन, अपाङ्ग, दिर्घरोगी तथा बृद्धबृद्धाको लागि प्रत्येक वडाबाट तथ्यांक संकलन गरि विशिष्ट प्रकारको स्वास्थ्य सुविधा घरमै गई उपलब्ध गराउने, प्रत्येक वडाबासीलाई स्वास्थ्य जाँच कार्ड प्रदान गरि नियमित स्वास्थ्य जाँचको व्यवस्था गरिनेलगायत रहेका छन् ।
यसैगरी रोजगार सम्बन्धि प्रतिबद्धतामा दक्ष र अदक्ष जनशक्तिको तथ्यांक संकलन गरेर त्यसको वर्गीकरण गरि नगरभित्र आवश्यक विभिन्न प्रकारको रिक्त जनशक्तिको पूर्तिका लागि तालिम संचालन, युवा जनशक्तिको विदेश पलायन रोक्न नगरभित्र रोजगारी श्रृजना गरि उक्त जनशक्ति नगर मै प्रयोग गर्ने व्यवस्था लगायत रहेका छन् ।
मेयर पदका उम्मेदवार थापाद्वारा जारी गरिएको प्रतिबद्धता पत्रलाई आउने दिनमा कार्यान्वयन गर्न सके वास्तविक रुपमै उपमहानगरको स्वरुप परिवर्तन हुने देखिन्छ । त्यस बारे समेत स्वतन्त्र उम्मेदवार थापाले आफूले यी यावत सार्वजनिक गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न व्यवस्थापन मात्र गर्नु पर्ने बताउनुभयो ।