
राप्तीसोनारी, १९ बैशाख – राप्तीसोनारीका काँग्रेस उम्मेदवारहरुले पाँच बर्षमा काँग्रेसले गरेका कामहरुको उचित मूल्यांकन गरेर आफूहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
अध्यक्षका उम्मेदवार तप्त बहादुर पौडेल र उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारुले यसअघि पनि काँग्रेसले नै जितेर जनताका पक्षमा गरेका कामहरुको उचित मूल्यांकन गर्दै फेरि पनि काँग्रेसकै उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ८ मा आज (सोमबार) गरिएको घरदैलोका क्रममा पौडेल र थारुले अपूरा कामहरुको निरन्तरता लागि आफूहरुलाई पुनः अनुमोदन गर्न आग्रह गर्नुभएको छ । घरदैलोमा राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारीको बृहत्तर हितका लागि पुनः काँग्रेसलाई नै रोज्न आग्रह गर्नुभयो ।
स्थानीयहरुले कांग्रेसका जनप्रतिनिधिले गरेका कामहरुबाट आफूहरु लाभान्वित भएको भन्दै फेरि पनि काँग्रेसलाई नै रोज्ने प्रतिक्रिया दिएका थिए । घरदैलोमा वडा अध्यक्षका उम्मेदवार नरेन्द्र विक्रम वली लगायत वडा सदस्यका उम्मेदवारहरु पनि थिए । राप्तीसोनारीमा यसअघिको स्थानीय निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जितेको थियो ।