Wednesday, April 22सत्यम खबर
Shadow

खेलकुद प्रतिभा सम्मान एवं पत्रकारीता पुरस्कार वितरण

काठमाण्डौं, ४ पौष – युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा सम्मान तथा पत्रकारीता पुरस्कार वितरण गरेको छ । आईतबार मन्त्रालय मै आयोजित विशेष कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ९ खेलाडी तथा १० जना पत्रकारलाई पुरस्कृत गर्नु भएको हो ।

जसमध्ये उसु खेलाडी दिपक हमाल, जुनी राई र सुस्मिता तामाङसहित कराँतेका एलेन श्रेष्ठ र एथलेटिक्सकी पुष्पा भण्डारीलाई प्रतिभा सम्मान प्रदान गरिएको छ । त्यसैगरी, पारा खेलकुदतर्फका केशव थापाले पनि प्रतिभा सम्मान प्राप्त गर्नुभएको छ । मन्त्रालयले ६ जना खेलाडीहरुलाई सम्मानपत्रसहित जनही १ लाख नगद पुरस्कार समेत उपलब्ध गराएको छ ।

त्यसैगरी रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्का नगद १ लाखसहित प्रतिभा सम्मानबाट पुरस्कृत हुनुभएको छ । तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि उक्त सम्मान प्रदान गरिएको छ । दुबैजनाले सम्मानपत्रसहित जनही नगद ५० हजार प्राप्त गर्नु भएको छ ।

यसैबिच लामो समयदेखी विभिन्न संचारमाध्यममा खेलकुद पत्रकारीता गरिरहनु भएका १० जना संचारकर्मीहरुलाई समेत पुरस्कृत गरीएको छ । सात प्रदेशको प्रतिनिधित्व हुने गरी ७ जना र विभिन्न संचारमाध्यममा माध्यममा कार्यरत ३ जना गरी कुल १० जनालाई युवा तथा खेलकुद मन्त्री अथकले नगद राशी तथा प्रमाणपत्र सहित पुरस्कृत गर्नु भएको हो ।

पुरस्कृत हुनेहरुमा प्रदेश नं. १ का नमिन ढकाल, प्रदेश नं. २ का बसन्त खतिवडा, बागमती प्रदेशका कुशल तिमल्सिना, गण्डकी प्रदेशकी सोनिता अर्याल, लुम्बिनी प्रदेशका दिपक न्यौपाने, कर्णाली प्रदेशका रमेशकुमार पाण्डे र सुदुरपश्चिम प्रदेशका विनोद सिंह विष्ट रहनु भएको छ । उहाँहरुले सम्मानपत्र सहित जनही २५ हजार नगद प्राप्त गर्नु भएको छ ।

त्यसैगरी कान्तिपुर दैनिकमा कार्यरत हिमेश रत्न बर्जाचायलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ । उहाँलाई सम्मानपत्रसहित नगद ५० हजार प्रदान गरीएको छ भने कान्तिपुर कै सन्जु पौडेल र ढोरपाटन दैनिकका विजयी नेपालीलाई समावेशीतर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरीएको छ । दुबैजनाले सम्मान पत्रसहित जनही नगद २५ हजार प्राप्त गर्नु भएको छ ।

खेलाडी तथा पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गर्दै मन्त्री अथकले पुरस्कार प्राप्त गर्नु भनेको थप जिम्मेवारी बढ्नु भएकाले सोही अनुरुप खेलकुद क्षेत्रको विकासमा क्रियाशिल रहन सबैलाई शुभकामना दिनुभएको थियो । उहाँले खेलाडीहरुको क्षमता तथा लगावलाई बजारीकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीहरुलाई स्थापित गर्ने दायित्व समेत निर्वाह गर्न संचारकर्मीहरुलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोईराला, मन्त्रालयका कर्मचारी तथा बिभिन्न खेलसँग सम्बनिध्त खेलाडी, प्रशिक्षक तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *