Thursday, April 23सत्यम खबर
Shadow

गुणस्तरिय सेवा प्रदान गर्ने डुडुवाका स्वास्थ्य कर्मचारीलाई सम्मान

डुडुवा, ४ पुस – बाँके डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले बनभोज तथा कर्मचारी सम्मान कार्यक्रम गरेको छ । बर्दियाको पर्यटकिय स्थल तथा सिमसार क्षेत्र सतखलुवामा सम्मान कार्यक्रम गरिएको हो । बाँके जिल्ला मै स्वास्थ्य क्षेत्रमा पहिले स्थान हासिल गरेको डुडुवाले स्वास्थ्य चौकी इन्चार्ज तथा कर्मचारीलाई सम्मान गरेको हो ।

बनभोजका क्रममा आयोजित एक कार्यक्रममा लुम्विनी प्रदेश वन, बाताबरण तथा भुमि व्यवस्था मन्त्री सुरेन्द्रबहादुर हमाल, जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, काँग्रेश प्रदेश अधिबेशन प्रतिनिधी राजकुमार शाहुले स्वास्थ्य सेवा प्रवाहमा प्रभावकारी भुमिका निर्वाह गर्ने स्वाथ्य शाखा इन्चार्ज तथा कर्मचारीहरुलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।

डुडुवाले सञ्चालन गरेको घरघरमा स्वास्थ्य सेवा अभियानले स्वास्थ्य क्षेत्रमा विशेष उपलब्धी हासिल गरेको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको आधारमा स्वास्थ्य कार्यालय बाँकेले विभिन्न सूचकको आधारमा उत्कृष्ठ छनौट गरेको जनाएको छ ।

डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबै भन्दा बढी ७६ अंक ल्याएर जिल्ला कै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताउनुभयो । उहाँका अनुसार मूल्याकनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्तर्गत विभिन्न सूचकको आधारमा उत्कृष्ट देखिएको हो ।

डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको छ । अहिले पालिकाका तीन वटा स्थानमा निशुल्क प्रयोगशाला, जेष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा दुई वटा थप स्वास्थ्य एकाइको स्थापना, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घर मै स्वास्थ्यकर्मीद्धारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको डुडुवा स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।

सम्मान कार्यक्रमपछि सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन समेत गरिएको थियो । कार्यक्रममा गाउँपालिका अन्तर्गत ६ वटा स्वास्थ्य चौकीका सम्पुर्ण स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *