
नेपालगन्ज, ८ मंसिर – नेपालगन्ज उपमहानगरपालिकाका भित्र रहेको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल श्री श्री १००८ हडियाबाबा आश्रममा प्रत्येक वर्ष झैं यसवर्ष पनि भब्य रुपमा मेला आयोजना गरिएको छ ।

प्रत्येक वर्ष झै मंसिर ५ गते अर्थात मार्ग कृष्णपक्ष द्वितीय र तृतीयको शुभ अवसरमा शुभारम्भ भएको धार्मिक मेला श्री हडियाबाबा आश्रममा आयोध्यबाट आएको टीमद्वारा श्रीकृष्ण लिला मञ्चन मण्डलीमार्फत राती ७ बजेदेखि शुभारम्भ भई १२ बजेसम्म कथा मञ्चन गर्ने गरिन्छ ।
श्री श्री १००८ हडियाबाबा आश्रमको विशेषताको कुरा गर्नुपर्दा धेरै रहेको पाईन्छ । तर विशेष रुपमा भन्नुपर्दा नेपाल–भारतका विभिन्न मठमन्दिरबाट साधुसन्तहरुको जमघट हुने गर्दछ । सहभागी साधुसन्तहरुलाई कसैले पनि निम्तो नगरेको भएपनि हडियाबाबाको महिमाले गर्दा प्रत्येक वर्ष साधुसन्तहरुको जमर्को लाग्ने गर्दछ । यसवर्ष पनि आज चौथो दिनसम्म २ सय ५० बढी साधुसन्तहरुको जमघट रहेको पाईन्छ ।

श्री हडियाबाबा आश्रममा रहेको बगैचा भित्र खुला र स्वच्छ वातावरणमा चोरैतिर भरिभराऊ रहेको साधुसन्तहरुलाई हेर्दा मन आफै शान्तिको प्रत्यभूति गरेको पाईन्छ । श्री हडियाबाबा आश्रमको मेला आयोजना गर्नु पूर्व सम्पूर्ण तयारीमा हडियाबाबा आश्रमको व्यवस्थापन समितिले तयारी गरेका हुन्छन् । जसमा मन्दिरमा जग्गा दाता, चन्दा दाताहरुलाई बोलाई छलफल गर्ने, मेला तयारी समितिहरु गठन गर्ने, मूल समिति गठन गर्ने, भोजन व्यवस्थापन तयारी समिति, स्वास्थ्य समिति, मेला आयोजना समिति लगायत समितिहरु गठन गरिएका हुन्छन् ।

श्री हडियाबाबा आश्रममा मेला अवधी भर भब्य भण्डारा समेत आयोजना गरिएको हुन्छ । जसमा श्री हडियाबाबाप्रति धार्मिक आस्था राख्ने चन्दादाताहरुले खुलेर आर्थिक सहयोग गर्नुका साथै भण्डाराको आयोजना आलोपालो गर्ने गरेका हुन्छन् ।

मेला शुभारम्भ भएको दिनमा विशेष तयारी गर्नुपर्ने भएको हुँदा सो दिन रुद्री पाठ, कन्यापुजन, ब्राम्हण भोजन, कन्य भोजनलगायतको आर्थिक व्यवस्थापनको जिम्मेवारी समाजसेवी पशुपतिदयाल मिश्रा र स्व. रामपति तिवारीका परिवारले मिलेर सम्पन्न गरेको पाईन्छ ।

यसैगरी दोस्रो दिन सहभागी साधुसन्तहरुलाई भोजन, नास्ता, चिया तथा भण्डाराको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय समाजसेवी ओमप्रकाश वैश्यले निर्वाह गरेका छन् भने तेस्रो दिनमा लाग्ने सम्पूर्ण खर्च शिक्षक रितेश शर्माले बहन गरेका छन् ।

यसैगरी, बुधबार चौथो दिनमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी शाहपूर्वा निवासी समाजसेवी बउर यादवले गरिरहेका छन् भने पाँचौ दिन विहिबार हुने नास्ता, चिया, खाना तथा भण्डाराको सम्पूर्ण जिम्मेवारी युवा नागरिक समिति वडा नं. ६ ले गर्ने समितिका संयोजक मदनराज शर्माले जानकारी गराउनुभयो ।

यसैगरी छैठौ दिन साधुसन्तहरुको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मेवारी समाजसेवी ध्रुब वैश्यले कढी–चामल खुवाएर बिदाई गर्ने कार्यक्रम रहेको श्री श्री १००८ हडियाबाबा आश्रमका मूल महन्त सोम गिरीले बताउनुभयो ।

महन्त सोम गिरीका अनुसार बिदाई अगावै उपस्थित साधुसन्तहरुलाई बिहानको नास्तामा हलुवा, चना लगायतको व्यवस्थापनको सम्पूर्ण खर्च समाजसेवी तथा वडा नं. १८ का वडाध्यक्ष दीपक बर्माले गर्ने बताउनुभयो ।

मेला अवधीमा साँसद नमूना केसीले श्री हडियाबाबा आश्रम ऐतिहासिक धार्मिक पर्यटकीय स्थल भएको हुँदा आफूबाट तथा प्रदेश सरकारबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

मेला अवधीमा सहभागी साधुसन्तहरुलाई श्री हडियाबाबा आश्रमद्वारा न्यानो कम्बल उपहार स्वरुप वितरण गरिने बताईएको छ । मेलामा हजारौ श्रद्धालूहरुको भिड लाग्ने गरेको छ भने धार्मिक कथा श्रीकृष्ण लिला मञ्चनको श्रवण गर्न समेत सबैमा अपील हडियाबाबा आश्रमका मूल महन्त सोम गिरीले गर्नु भएको छ ।

हाल आश्रमको व्यवस्थापन समितिको अध्यक्षमा समाजसेवी तथा व्यापारी नन्दलाल वैश्य रहेका छन् ।
