Wednesday, April 22सत्यम खबर
Shadow

खुसी र स्वस्थ समाज निर्माणको लागि डिभीको ‘खुला व्यायामशाला’ अभियान

काठमाण्डाै, ७ मंसिर – शैक्षिक प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेशनले मुलुकका विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला (फिटनेश पार्क) सञ्चालनमा ल्याएको जनाएको छ ।

डिभी एजुकेशनका प्रबन्ध निर्देशक तरुणप्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना महामारीमा विशेष गरि शारीरिक व्यायाम मार्फत युवामा थोरै भए पनि सकारात्मक सोंच र उत्साह थप्न खुला शारीरिक व्यायामशाला सञ्चालनमा ल्याएको जानकारी दिए ।

‘कोरोना महामारीले विश्वनै आक्रान्त थियो । त्यसको प्रभाव हाम्रो देशमा पनि थियाे । महामारी कै कारण यूवामा मानसिक समस्या समेत देखिन थालेको थियो । हामीलाई लाग्यो यस्तो अवस्थामा व्यायाम मार्फत यूवालाई व्यस्त राख्न सकिन्छ’ शाहले भने, ‘जसले शारीरिक र मानसिक दुबै कुरामा राहत मिल्छ । यही सोंचका साथ हामीले कोरोना महामारी कै बीचमा गत वर्षको नेभेम्बर महिनामा खुला शारीरिक व्यायामशाला सञ्चालन गर्यौं ।’

डिभी एजुकेशनले नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) सँगको समन्वयमा काठमाण्डौको टोखा, नक्साल, पोखरा, चितवन र विराटनगरमा पनि खुला शारीरिक व्यायामशाला सञ्चालनमा ल्याएको उनले बताए । उनले छिट्टै थप पाँच ठाउँमा सेवा विस्तार गर्ने जानकारी दिए । व्यायामशाला हाम्रो शरिरको प्रार्थना गर्ने ठाउँ (मन्दिर) हो भन्ने मान्यताका साथ सञ्चालन गरिएको यो अभियानलाई ‘प्रोजेक्ट टेम्पल’ नाम दिइएको छ ।

यूवाहरू स्वस्थ भए परिवार, समुदाय स्वस्थ रहन्छ र समग्रमा देश नै स्वस्थ रहन्छ भन्ने सोंचका साथ सुरु गरिएको यो अभियानले ‘ह्याप्पी एण्ड हेल्दी कम्युनिटी’ को अवधारणामा काम गरिरहेको उनको भनाइ छ । यो अभियानको उद्धेश्य सरकारको खुल्ला व्यायामशाला बनाउने नीतिमा निजी क्षेत्रको सहभागिता मार्फत सेवा दिनु पनि रहेको उनको भनाइ छ ।

‘हामीले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि व्यायामशाला सहयोगी हुने विश्वास लिएका छौं । यूवामा नकारात्मक सोंच तथा लागू पदार्थको दुर्व्यसन जस्ता लतमा रहेकालाई त्यसबाट छुट्कारा दिन र त्यो बाटोमा लाग्न नदिन खुल्ला व्यायामशालाले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ’ उनले भने ।

कार्यक्रममा नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) का संस्थापक अध्यक्ष सुकदेव कार्कीले आफूहरूले सन् २०१९ मार्चदेखि निशुल्क व्यायाम प्रशिक्षण र व्यायामशाला सञ्चालनको अभियान अगाडि बढाउँदै आएकोमा डिभी एजुकेशनले सामाजिक उत्तरदायित्व पुरा गर्दै जोडिन आउँदा धेरै सहयोग पुगेको बताए ।

उनले डिभीसँगको सहकार्य सहित आफूहरूले देशभर १३ ठाउँमा व्यायामशाला सञ्चालन गरेको र ति ठाउँमा आफ्ना स्वयमसेवक मार्फत निशुल्क प्रशिक्षण दिँदै आएको बताए । ‘हामीले हाम्रो स्वयमसेवक मार्फत निरन्तर निशुल्क प्रशिक्षण दिँदै आएका छौं । सरकारी तवरबाट खुलेका व्यायामशाला प्रभावकारी रुपमा नलचेको बेला हाम्रो प्रयासले सार्थकता पाएको छ’ उनले भने, ‘हाम्रो सहभागिताले व्यायामशाला गलत प्रयोग हुने र प्रयोग नै नहुने अवस्थामा छैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *