
नेपालगन्ज, ७ कार्तिक – गत असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म भएको अबिरल वर्षाका कारण बाँके जिल्ला लगायत देशभर जनधनको क्षति भएको हुँदा सरकारद्वारा गरिएको राहत निर्णयको बाँकेका अगुवाहरुले स्वागत गरेका छन् ।
अधिवक्ता, पीडित कृषक, अगुवा कृषक तथा राजनीतिक दलका प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाउँदै सरकारले राहत वितरण गर्ने निर्णयको स्वागत गरेका छन् ।
उक्त समूहले ज्ञापन पत्रमा ‘उपरोक्त सम्बन्धमा गत असोज ३१ गते देखि कार्तिक ३ गते सम्म भएको अबिरल बर्षाका कारण बाँके जिल्ला लगायत नेपाल भरी नै ब्यापक जन धनको क्षति भएको छ । बाँके जिल्लामा कुनै मानवीय क्षति नभए पनि मुख्य बाली धान खेतबाट भित्रयाउनै लाग्दा खेत मै नष्ट भएको छ । उत्पादन भएको सम्पूर्ण धान बाली खेत मै उम्रिसकेको सडी गली नष्ट भैसकेको अवस्थामा बाँके जिल्ला बासीमा हात मुख जोर्ने बेलामा भएको प्राकृतिक बिपत्तीका कारण साद्यान्न संकट उत्पन्न हुने अवस्थाको श्रृजना हुन सक्ने निश्चित छ’ भनी उल्लेख गरेको छ ।
ज्ञापन पत्रमा अगाडी ‘खेत मै खाद्यान्न नष्ट भएका नागरिकको प्रति परिवार १५ हजार र २० हजार तत्काल राहत स्वरुप उपलब्ध गराउने भनी गरेको निर्णय स्वागत योग्य रहेको छ । सो निर्णय कार्यान्वयनमा ढिलाई हुन नहुने तर्फ अनुरोध गर्न चाहन्छौं’ भनी उल्लेख गरिएको छ ।
‘बाँके जिल्लाका ९०% भन्दा बढी नागरिक कृर्षि र कृर्षि ब्यवसायमा आश्रित भएको हुनाले कार्तिक महिनामा आएको बिपत्तीका कारण अन्य कुनै बैकल्पिक ब्यवस्था नभएकोले हात मुख जोर्ने धौ–धौ हुनुका साथै आर्थिक अवस्था समेत जर्जर हुने र भोकमरी फैलिन सक्ने खतरा उत्पन्न भएको छ । प्रत्येक नागरिकलाई खाद्य बस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हकको संबैधानिक प्रत्याभूति रहेको अवस्थामा भबिष्यमा खाद्य संकट हुन नदिन राज्यको दायित्व समेत भएको हुनाले खेत मै नष्ट भएको बालीको सम्बन्धमा सबै पीडितहरुलाई न्यूनतम प्रति कट्ठा रु.१०,०००।– क्षतिपूर्ति÷राहत उपलब्ध गराउन हुनका लागि अनुरोध गर्दछौं’ भनी ज्ञापन पत्रमार्फत माग गरेका छन् ।
साथै ‘मौसम पूर्वानुमानमा आम जनसमुदायको पहुंच नभएको कारणले समयमा मौसम सम्बन्धी जानकारी प्राप्त नहुंदा पनि बढी क्षति भएकोले मौसमको कारण बढी क्षति नहोस भन्ने उद्देश्यले मौसम सम्बन्धी सूचनामा आम जनसमुदायको पहुंचको लागि प्रत्येक गाऊँ पालिकामा मौसम पूर्वानुमान सूचना प्रणाली जडान गर्न हुनको लागि अनुरोध गर्दछौं’ भनी उल्लेख गरेका छन् ।
ज्ञापन पत्र प्रस्तुतकर्ताहरुमा गिरजाप्रसाद पाठक नेता लोकतान्त्रिक समाजवादी पार्टी, अधिवक्ता बिश्वजीत तिवारी, अधिवक्ता रामकुमार दीक्षित, कृष्ण मुरारीप्रसाद भट्ट, कौशलकुमार मिश्र, अधिवक्ता दलबहादुर चन्द, सुरेशकुमार बर्मा, अधिवक्ता केवल सिंह थारु, कृषक अगुवा अरुण कुमार तिवारी, अधिवक्ता बिजयकुमार शर्मा, हेमन्तकुमार मिश्र, सत्य नारायण पाठक, राजकुमार गुप्ता, जगतराम ठाकुर, लंकीन कुर्मीलगायत रहेका छन् ।


