Wednesday, April 8सत्यम खबर
Shadow

कपिलवस्तु घटनामा घाइते अरुण यादवको निधन, शहीद घोषणा गर्न राष्ट्रिय एकता दलको माग

काठमाण्डौ, २३ चैत्र – कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका–२, बरगदामा केही दिनअघि हिन्दू मन्दिरमा भएको तोडफोडको विरोधमा सञ्चालन गरिएको शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अरुण यादवको उपचारका क्रममा निधन भएको छ। उनको निधनप्रति राष्ट्रिय एकता दलले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

दलले एक प्रेस विज्ञप्ति जारी गर्दै दिवंगत यादवप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, भगवानसँग मृत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई पीडा सहने शक्ति प्रदान होस् भन्ने प्रार्थना गरिएको छ।

प्रेस विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिकमाथि गोली प्रहार हुनु लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको उल्लेख गर्दै यस्तो कार्यप्रति कडा शब्दमा भर्त्सना गरिएको छ।

घटनालाई गम्भीर रूपमा लिँदै राष्ट्रिय एकता दलले नेपाल सरकारसमक्ष पाँच बुँदे मागसमेत अघि सारेको छ। जसअनुसार स्वर्गीय अरुण यादवलाई तत्काल शहीद घोषणा गर्न, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा जीवनभरि पालनपोषणको व्यवस्था गर्न, घटनामा संलग्न प्रहरीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न, धार्मिक आस्थामाथि आक्रमण गर्ने दोषीहरूलाई पक्राउ गर्न तथा देशभर धार्मिक सद्भाव कायम गर्न प्रभावकारी कदम चाल्न माग गरिएको छ।

दलका केंद्रीय अध्यक्ष विनय यादवले “धर्म, राष्ट्र र नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन” भन्ने प्रतिबद्धता दोहोर्‍याउँदै पार्टी सधैं राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र नागरिक अधिकारको पक्षमा उभिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *