
खजुरा, २३ चैत – आयोजक योगिनी युवा क्लब ‘बी’ ले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन खेलमा जित हासिल गरेको छ । योगिनी युवा क्लब ‘बी’ ले ब्रदर्श एफसी खजुरालाई सडनडेथमा हराएको हो । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा निर्धारित समय दुबै टिमले गोल रहित बराबरी खेलेका थिए ।
पेनाल्टी सुटआउटमा दुबै टिमले ४–४ को बराबरी गोल गरेको थिए । पेनाल्टी सुटआउटमा पनि रोमाञ्चक बनेको खेलमा आठौ नम्बरमा आएका खेलाडी रितेश सुनारले निर्णायक गोल गर्दै योगिनीलाई सफलता दिलाउनु भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्नु भएका आयोजक योगिनीका गोलकिपर एवम् कप्तान सुरज थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो ।

सुरजलाई प्रतियोगिताको प्रायोजक हरित सिर्जना सामुदायिक वन उपभोक्ता समितिका कार्यबहाक अध्यक्ष यामबहादुर थापा र प्रतियोगिताको इन्टरनेट पार्टनर टेकमाइन्ड प्रालीका बाँके–बर्दिया मार्केटिङ म्यानेजर विजय बुढाले पुरस्कृत गर्नु भयो ।
योगिनी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ । आइतबार खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले प्रतियोगिताको उद्घाटन गर्नु भयो । युवाहरुलाई खेलकुदको माध्यमबाट सक्रिय बनाउन फुटबल प्रतियोगिता महत्वपुर्ण भएको मल्लले बताउनु भयो । उहाँले भन्नु भयो,‘आयोजक योगिनी युवा क्लब टिमलाई धेरै धन्यवाद ।

प्रतियोगिताको सफलताको शुभकामना दिन चाहन्छु । प्रतियोगिताले यस क्षेत्रबाट नयाँ फुटबल खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।’
उद्घाटन समारोहमा बोल्दै खजुरा गाउँपालिका वडा नम्बर २ अध्यक्ष धनराम ओलीले प्रतियोगिताका खजुरालाई फुटबलमा अब्बल रुपमा चिनाउँदै लगेको बताउनु भयो । योगिनी कपले यस क्षेत्रमा भएका नयाँ खेलाडीलाई अवसर प्रदान गर्दै फुटबलको विकासमा योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । आयोजक योगिनी युवा क्लबका अध्यक्ष कमल पुनले प्रतियोगिता आयोजमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनु भयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य जनक केसी, क्लबका संस्थापक अध्यक्ष तरिन्द्र थापा, महासचिव कमल खत्री, फुटबल प्रशिक्षक सानु तामाङ, नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी, खजुरा गाउँपालिका कार्यपालिका सदस्य मैसरी पुनलगायतको सहभागिता रहेको थियो ।

चैतको २९ गतेसम्म चल्ने प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस क्लब, मानवी स्पोर्टस क्लब, २७ स्टार क्लब, राईजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योती युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक गणेश राईले बताउनु भयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक गणेश राईले बताउनु भयो ।

प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेल २७ स्टार क्लब र राईजिङ स्टार बिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल मोडेल एफसी र सीतापुर युनाईटेडले प्रतिस्पर्धा गर्ने आयोजक क्लबले जनाएको छ ।
