
नेपालगन्ज, ८ चैत्र – “राजतिलकको गर तयारी आई सकेका छन् भगवाधारी” नारा सहित ५८औं महामूर्ख सम्मेलन प्रसिद्ध हिन्दुवादी नेता दिवाकर खनालको अध्यक्षतामा सम्पन्न भएको छ ।
नेपालगन्जमा महामूर्ख सम्मेलनको आयोजन गर्ने परम्परा धेरै नै पुरानो छ । फागू पूर्णिमा होली पर्वको अवसरमा त्रिभुवन चोक पूर्व लाईन वडा नं. ८ मा यो महामूर्ख सम्मेलन कार्यक्रम हुँदै आएको छ । गत वर्ष २०७७ सालमा यसको अध्यक्षता नेपालगन्ज उद्योग वाणिज्य संघका नि. अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
यस वर्ष ५८औं महामूर्ख सम्मेलन आयोजन समितिको बसेको बैठकले छलफल गरि अध्यक्ष चयनको लागि पहिले नेगउवा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाको अध्यक्षतामा कार्यक्रमको आयोजन गर्ने निर्णय गरेको थियो तर मन्सुरीले यो सम्मान ग्रहण गर्न इच्छा नजनाएपछि संघका आदेशकुमार अग्रवालको नाम अघि सारिएको थियो । तर अग्रवालले पनि सम्मान ग्रहण नगर्ने भनेपछि नेगउमनपा ८ नं. वडाका वडाध्यक्ष सुरेन्द्रकुमार गुप्ता र त्यसपछि पूर्वमन्त्री फतेह सिंह थारुलाई पुनः अध्यक्ष बनाई सम्मान गर्ने सोच बनाएको थियो ।
स्मरणीय छ विगत दशकौं अघि थारुले यस सम्मेलनको अध्यक्षता ग्रहण गर्नु भएको थियो । महामूर्ख सम्मेलनको अध्यक्षता ग्रहण गरी सम्मानित हुने व्यक्तित्व ठूलो प्रगति गरी सम्मानित पदमा पुगेको इतिहास रहेको छ । यस कारण महामूर्ख सम्मेलनको अध्यक्ष बन्ने तछाड मछाड विगत दशकौंदेखि चल्दै आएको छ । राप्रपाका नेता समेत रहेका फतेह सिंह थारु विगतमा महामूर्ख सम्मेलनको अध्यक्ष बनेपछि संचारमन्त्री पद पाउनु भएको समेत इतिहास रहेको छ ।
शुक्रवार रानीतलाउ त्रिभुवनचोक पूर्व लाईन वडा नं. ८ मा आयोजित भएको ५८औं वर्षको महामूर्ख सम्मेलनको आयोजन हुँदा महामूर्ख सम्मेलनको आजीवन संरक्षक रहनु भएका प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्यका छोरा अजय गुप्ताले परम्परा अनुसार हिन्दुवादी नेता दिवाकर खनाललाई जुत्ता, चप्पल र विभिन्न तरकारीले बनेको माला पहिराई उहाँको शिरमा उच्च रंगीन टोपी लगाई कदर सम्मान गरेका थिए ।
यस कार्यक्रममा शिवसेनाका दर्जनौं स्थानीय तहका नेता कार्यकर्ता र सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । महामूर्ख सम्मेलनको कदर सम्मान ग्रहण गर्दै सम्मानित व्यक्तित्व हिन्दुवादी नेता दिवाकर खनालले सम्बोधन गर्दै भने, महामूर्ख सम्मेलनको आयोजन गर्ने परम्परा धेरै नै पुरानो छ । यो सम्मान ग्रहण गर्ने मौका पाई म आफूलाई गौरवान्वित महसुस गरी रहेको छु । वैदिक सनातनी न त कहिल्यै समाप्त भएका थिए, न त समाप्त हुन्छन् । अब जातजातिमा नबटौं सबै सनातनी बनौ समाजमा धेरै परिवर्तन आई सकेको छ यस कारण सबै सनातनी बन्नु जरुरी भएको छ भन्नु भयो ।
हिन्दुवादी नेता दिवाकर खनालको सम्मानबाट राप्रपा आशंकित रहेको देखियो । राप्रपाका ८ नं. वडाध्यक्ष सुरेन्द्र गुप्तालाई उपाध्यक्ष पदमा सम्मान कदर गर्ने घोषणा गर्दा पनि कार्यक्रमको समय गुप्ता त्यहाँ उपस्थित भएनन् । यस कारण होलिका दहन समिति ८ नं. वडा रानी तलाउका अध्यक्ष विजयकुमार वैश्यको शिरमा लामो टोपी र जुत्ता चप्पल तरकारीले बनेको माला अजयकुमार गुप्ताले पहिराई कदर सम्मान गरेका थिए ।
उक्त कार्यक्रम बीच चर्काे स्वरमा एक पटक पुनः जय श्रीरामको उद्घोष जनताले गरे । जसको कारण हिन्दुवादी नेता दिवाकर खनाल वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मेयर पदका उम्मेदवार बन्ने सम्भावना अझ बढेको छ ।
महामूर्ख सम्मेलनको कदर सम्मान स्वरुप प्राप्त टोपी हिन्दुवादी नेता दिवाकर खनालले आफ्नो कार्यालय भित्र लगी सुरक्षित राखेका छन् । यसमा उहाँले जानकारी गराउँदै भन्नुभयो, २०७७ मा महामूर्ख सम्मेलनको कदर सम्मान प्राप्त गरेका व्यक्ति पनि मेयर पदको चुनाव लड्ने कुरा चर्चामा छ तर उहाँले कदर सम्मान स्वरुप प्राप्त गरेको टोपी फोहोर नालीमा फालेका थिए, म त्यस्तो गर्दैन यो सम्मानको टोपी सुरक्षित राख्ने छु, यस टोपीले किर्तिमान स्थापित गर्छ भन्नुभयो ।
यस कार्यक्रममा नेपाल शिवसेनाका के. अध्यक्ष राजकुमार रौनियार, हिन्दुवादी नेता शेरबहादुर शाही, मदनराज शर्मा, रमेश चन्द्र कुमाल, रामशंकर माधवदास, मंगल जिएम लगायतहरुको उपस्थिति रहेको थियो ।
