
नेपालगन्ज, १९ पाैष – नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–८ एकलैनी स्थित कालीमाई मन्दिरमा पौष २० गतेदेखि पाैष २६ गतेसम्म श्रीरामकथा बाचन शुरू हुने भएको छ ।
आज साेमबार कसौंधन बैश्य समाज बाँके, युवा मञ्च, महिला मञ्च तथा हलचल फउण्डेशन नेपालगन्जको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गरि पौष २० गतेदेखि २६ गते सम्म श्रीराम कथा हुने कसौंधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले जानकारी गराएका छन् ।
माता–पिताले आफ्ना छोरोछोरीहरूसित कस्ताे व्यवहार गर्ने, सासु–ससुराले बुहारीसित कस्ताे व्यवहार गर्ने, छोराले आफ्ना माता–पितासित गर्ने व्यवहार, माता सिताकाे जीवन लगायतको बारेमा श्रीराम कथाबाट सिक्न सकिन्छ र श्रीराम कथाले आ–आफ्ना कर्तव्य के हो, त्यसको सन्देश दिन्छ, साेही उद्देश्यका साथ श्रीराम कथाको आयोजना गरिएको अध्यक्ष वैश्यले बताउनुभयाे ।
पत्रकार सम्मेलनमा कसौंधन बैश्य समाजका महासचिव सत्य नारायण कसौंधन र युवा मञ्चका अध्यक्ष आदित्यकुमार गुप्ताले श्रीराम कथाको बारेमा जानकारी गराउँदै कथा दिउँसो ३ बजेदेखि ६ बजेसम्म दैनिक बाचन हुने हुँदा सम्पुर्ण भक्तजनहरू सहभागी हुन अनुराेध गरेका छन् ।
भाेलि मंगलबार पौष २० गते बिहान ९ बजे कालीमाईको मन्दिरबाट शोभायात्रामा सहभागी हुन समेत अनुराेध गरेका छन् । उक्त शोभायात्रा त्रिभुवन चौक हुँदै, त्रिवेणीमोड, बागेश्वरी मन्दिर, धम्बोझी चौक, सेतुबिक चौक हुँदै पुनः कालीमाई मन्दिरमा पुग्ने बताईएकाे छ । भारतकाे उत्तरप्रदेश बृन्दावनबाट पुरुषोत्तम उपाध्यायको मुखारबिन्दबाट श्रीराम कथा वाचन हुने बताईएकाे छ ।
